अर्थ संसार, रत्ननगर, चितवन–  बैंकिङ कसुर मुद्दामा अदालतले दोषी ठहर गरी करोडौँ जरिवाना तोकिएका फरार व्यक्ति विमल खड्कालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार काठमाडौँको साविक गागलफेदी गाविस–५ घर भएका ३४ वर्षीय खड्का पक्राउ परेका हुन् । उनलाई भरतपुर महानगरपालिका–९ गोन्द्राङबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ढकालले आज जानकारी दिनुभयो ।
चितवन प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई बैंकिङ कसुर मुद्दाद्वारा २०७१ साल असोज १ गते पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र रु पाँच करोड ७५ लाख जरिवाना तोकेको थियो ।
त्यसपछि फरार हुँदै आएका उनलाई फैसला कार्यान्वयन गर्ने सिलसिलामा खोजी अभियानका क्रममा पक्राउ गरेको हो ।
यसैगरी फुटबल खेलिरहेका बेला भरतपुरका सञ्जय कार्कीलाई आक्रमण गरी फरार भएका चितवन भरतपुरका अमृत गुरुङ र सिजे लामालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौँको नीलबारहीबाट पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत म्याद थप गरी चितवनमा अनुसन्धान अघि बढाइएको छ । रासस
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस