Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोपावरको ६५% हकप्रदको मिति तोकियो: ऋण र संस्थापक विरेन्द्र बहादुर न्यौपानेको सापटी तिर्न संकलित रकम प्रयोग गरिने

अर्थ संसार

आइतबार, २९ असार २०८२, ०७ : २४ मा प्रकाशित

जोशी हाइड्रोपावरको ६५% हकप्रदको मिति तोकियो: ऋण र संस्थापक विरेन्द्र बहादुर न्यौपानेको सापटी तिर्न संकलित रकम प्रयोग गरिने

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि हकप्रद सेयर निष्काशन प्रक्रिया सुरु गर्ने भएको छ। कम्पनीले अहिलेको चुक्ता पूँजीको ६५ प्रतिशत बराबरका हकप्रद सेयर सार्वजनिक गर्ने तयारी गरेको हो।

यस अनुसार, लगानीकर्ताले हाल कायम एक कित्ता शेयरको अनुपातमा ०.६५ कित्ता हकप्रद सेयर प्राप्त गर्न सक्नेछन्। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल २४ लाख १४ हजार १०० कित्ता सेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबर हुनेछ।

यस हकप्रद निष्काशनको लागि कम्पनीले असार ८ गते बुक क्लोज गरिसकेको छ। त्यसअनुसार, असार ५ गतेसम्म सेयर खरिद गरेका सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद भदौ ४ गतेसम्म रहेको छ।

कम्पनीलाई प्रदान गरिएको इस्यूअर रेटिङमा केयर रेटिङ नेपालले ‘CARE-NP B (Is)’ रेटिङ दिएको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै चुकाउने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हकप्रद सेयर निष्काशन तथा बिक्रीको प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले उक्त क्यापिटलको कार्यालय, जोशी हाइड्रोपावरको कार्यालय, र लक्ष्मी सनराइज बैंकको इलाम शाखाबाट समेत आवेदन दिन सक्नेछन्। साथै, सि-आस्बा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्थाबाट, वा 'मेरो सेयर' अनलाइन प्रणाली प्रयोग गरी पनि सहजै आवेदन दिन सकिने व्यवस्था छ।

हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ भने हकप्रद निष्काशनपछि यो बढेर ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रदबाट संकलन हुने पूँजी मुख्यतः विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा तथा ब्याज तिर्न र संस्थापक विरेन्द्र बहादुर न्यौपानेसँग लिएको सापटी चुक्ता गर्न प्रयोग गर्ने जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको