सेयर बजारबाट सरकारले गत आर्थिक वर्षमा हालसम्मकै उच्च पुँजीगत लाभकर संकलन गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा सेयर बजारबाट प्राप्त हुने पुँजीगत लाभकर अघिल्लो आर्थिक वर्षको भन्दा ३ गुणाले वृद्धि भएको हो ।
गत आर्थिक वर्षमा सेयर बजारबाट १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको छ । यो अघिल्लो आवको भन्दा ३ गुणा बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सेयर बजारबाट ५ अर्ब ५१ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । यस आर्थिक वर्ष २०७७/७८ मा सरकारले १४ अर्ब १३ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो । उक्त रेकर्ड गत आर्थिक वर्षमा तोडिएको हो ।
गत आर्थिक वर्षमा पुँजी बजारबाट सबै भन्दा धेरै लाभकर साउन महिनामा संकलन भएको छ । साउन महिनामा सेयर बजारबाट ४ अर्ब २३ करोढ ७८ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । त्यस्तै गत आवको भदौ महिनामा सेयर बजार कारोबार बाट राज्यकोषमा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पुँजीगत लाभकर जम्मा भएको थियो ।
असोज महिनामा घटेर ५८ करोड ६५ लाख रुपैयाँ, कात्तिक महिनामा ५७ करोड ८७ लाख रुपैयाँ र मंसिर महिनामा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । पुस महिनामा फेरि घटेर ५८ करोड ७ लाख, माघ महिनामा १ अर्ब ५ करोड ७ लाख रुपैयाँ, फागुन महिनामा १ अर्ब ३३ करोड २ लाख र चैत महिनामा ६९ करोड ३५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ ।
गत आर्थिक वर्षका वैशाख महिनामा १ अर्ब २२ करोड ९२ लाख रुपैयाँ, जेठ महिनामा १ अर्ब १७ करोड ८२ लाख र असार महिनामा १ अर्ब २७ करोड १२ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कुल ११६ कम्पनीको बोनस सेयर, प्राथमिक सेयर, एफपीओ, ऋणपत्र तथा म्यचुअल फण्डका इकाइ थप भएका छन् । गत आर्थिक वर्ष नै सेयर बजारमा कारोबार रकमले उच्च कारोबार रेकर्ड बनाएको थियो ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार गत आर्थिक वर्ष कुल २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९ प्रतिशत बढी हो । यसअघि आर्थिक वर्ष २०७७÷७८ मा सबैभन्दा धेरै १४ खर्ब ५४ अर्ब ४४ करोडको कारोबार रेकर्ड बनेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस