Like us!
Follow us!
Connect us!
Watch us!

किस क्याम काण्डपछि एस्ट्रोनोमरका सीईओ एन्डी बायरनले दिए राजीनामा

अर्थ संसार

आइतबार, ०४ साउन २०८२, ०८ : १६ मा प्रकाशित

किस क्याम काण्डपछि एस्ट्रोनोमरका सीईओ एन्डी बायरनले दिए राजीनामा

डेटा अप्स प्रविधिमा अग्रणी मानिएको अमेरिकी कम्पनी एस्ट्रोनोमर का सीईओ एन्डी बायरनले राजीनामा दिएका छन्। चर्चित ब्यान्ड कोल्डप्ले को कन्सर्टका दौरान किस क्याममा कम्पनीकी मानव संशाधन प्रमुख क्रिस्टिन क्याबटसँग देखिएको दृश्य भाइरल भएपछि बायरनले पद त्याग गरेका हुन्।

उक्त घटना म्यासाचुसेट्सको गिलेट स्टेडियममा आयोजना भएको कोल्डप्ले कन्सर्टमा भएको थियो। जहाँ बायरन र क्रिस्टिन सार्वजनिक किस क्याममा देखिएका थिए। सामाजिक सञ्जालमा ती तस्बिर र भिडियो तीव्र गतिमा फैलिएपछि कम्पनीले तत्काल दुवै जनालाई प्रशासनिक विदामा पठाएको थियो।

एस्ट्रोनोमरले शनिबार एक विज्ञप्ति जारी गर्दै बायरनको राजीनामाको पुष्टि गरेको छ। विज्ञप्तिमा भनिएको छः
“हाम्रो नेतृत्वले आचरण र जवाफदेहिताको उच्चतम मापदण्ड कायम गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ। पछिल्लो घटनाले यो मापदण्ड पुरा गर्न सकेन। त्यसैले एन्डी बायरनले पदबाट राजीनामा दिएका छन्, जुन कम्पनीको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ।”

हाल कम्पनीका सह–संस्थापक तथा प्रमुख उत्पादन अधिकृत पिट डेजोय अन्तरिम सीईओको रूपमा कार्यरत छन्। कम्पनीले स्थायी सीईओको खोजी प्रक्रिया थालिसकेको जनाएको छ।

प्रसंगलाई थप चासोको विषय बनाउने कुरा के थियो भने, बायरन र क्याबट दुवै व्यक्ति वैवाहिक जीवनमा बाँधिएका थिए। बायरनको पत्नी मेगन केरिगन हुन् भने क्याबट प्राइभेटियर रम का सीईओ एन्ड्रु क्याबटकी पत्नी हुन्। यस घटनाले वैवाहिक सम्बन्ध र व्यावसायिक आचरणसम्बन्धी गम्भीर प्रश्न उठाएको छ।

विवादबीच पनि एस्ट्रोनोमरले ग्राहकप्रतिको प्रतिबद्धता कायमै रहेको जनाएको छ। “हामी अझै पनि ग्राहकका डेटा र एआईसम्बन्धी जटिल समस्याको समाधानमा केन्द्रित छौं,” कम्पनीले भनेको छ।

एस्ट्रोनोमर विगत केही वर्षदेखि DataOps समाधानमार्फत आधुनिक एनालिटिक्सदेखि लिएर प्रोडक्सन एआईसम्मका सेवाहरू प्रदान गर्दै आइरहेको कम्पनी हो। यो काण्डले कम्पनीको सार्वजनिक छवि प्रभावित गरेको भए पनि उत्पादन र सेवा प्रवाहमा कुनै असर नपर्ने दाबी कम्पनीले गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको