अर्थसंसार आजदेखि बाह्रौं वर्षमा प्रवेश गरेको छ । हामीले आर्थिक मिडिया क्षेत्रमा रहेर ११ वर्ष पूरा गरेका छौं । आजका दिनसम्म तपाईंहरूबाट सधैं प्राप्त विश्वास र भरोसा नै हाम्रो सबैभन्दा ठूलो पुँजी हो । यसले जिम्मेवार पत्रकारिता गर्न हामीलाई सधैं प्रोत्साहित गरेको छ ।
सुरुवातका दिनहरूमा सीमित स्रोत, अप्ठ्यारा परिस्थितिहरू, डिजिटल प्लेटफर्मप्रतिको सशंकित दृष्टिकोण र आर्थिक पत्रकारितालाई लिएर व्यापक बेवास्ता रहेको समयमा हामीले सूचना, सत्यता र उत्तरदायित्वको मूल्यमान्यतालाई अँगाल्दै यो यात्रा सुरु गरेका थियौं ।
एघार वर्षको यो यात्रामा अर्थसंसारले पाठकहरूको विश्वासलाई निरन्तर संरक्षण गर्दै, समयसापेक्ष आर्थिक विषयवस्तुलाई सरल, स्पष्ट र तथ्यमा आधारित ढंगले प्रस्तुत गर्न सक्ने एक विश्वसनीय डिजिटल थलोको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । सुरुमा केही पाठकहरूबाट सुरु भएको यो यात्राले आज लाखौँ पाठकको साथ, हजारौं प्रत्यक्ष र परोक्ष स्रोतहरूको सहकार्य, विज्ञापनदाता तथा उद्यमशील समुदायको विश्वास जित्न सफल भएको छ ।
आर्थिक पत्रकारिता कुनै पनि समाजको दिगो विकाससँग प्रत्यक्ष जोडिएको हुन्छ । आर्थिक रिपोर्टिङलाई जनसाधारणका लागि बुझ्नयोग्य बनाउनु हाम्रो मूल उद्देश्य रह्यो, जसमा हामीले स्पष्ट, तथ्यमा आधारित र सन्तुलित सामग्री तयार गर्न विशेष प्राथमिकता दियौै । विश्वव्यापी महामारी, राजनीतिक अस्थिरता, मूल्यवृद्धि, डिजिटल ट्रान्सफर्मेसनको चाप, सूचना प्रवाहको विकृति र समाचारको विश्वसनीयता माथिको प्रश्नले गर्दा पछिल्ला वर्षहरू निकै चुनौतीपूर्ण थिए । तर, यिनै चुनौतीहरूले हामीलाई अझ जिम्मेवार बनाएको छ ।
आज अर्थसंसार केवल एक समाचार संस्था मात्र होइन, यो आर्थिक इतिहास, परिघटना र बहसहरूको एउटा गतिशील दस्तावेज पनि हो । हाम्रा रिपोर्टहरू, विश्लेषणहरू र अन्तर्वार्ताहरूले नीति निर्मातादेखि सर्वसाधारणसम्मलाई प्रभावित गर्दै आएका छन् । हामी हरेक पाठक, स्रोत व्यक्ति, विश्लेषक, विज्ञापनदाता र पत्रकार सहकर्र्मीप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छौं, जसले यो यात्रालाई सहज बनाएका छन् ।
आर्थिक क्षेत्रमा केन्द्रित भई तथ्यपरक समाचार सम्प्रेषण गर्ने लक्ष्यका साथ उपस्थिति जनाएको अर्थसंसारमा प्रकाशन भएका समाचार सामाग्रीमा हामीले न्याय कति पुरा गरेका छौं र कति बाँकी छ यसको मूल्याङकन पाठकबर्गले नै गर्दै आउनु भएको छ । एघार बर्ष पुरा भएको यो दिन केवल उत्सव मात्र होइन, यो आत्मसमीक्षा र आगामी यात्राको संकल्प लिने पनि अवसर हो । हामी अझ जिम्मेवार र नवीन पत्रकारितातर्फ अग्रसर हुनेछौं ।
आगामी वर्षहरूमा पनि आर्थिक विधामा रहेर सत्य, निष्ठा र उत्तरदायित्वका आधारमा कलम चलाउने हाम्रो प्रतिबद्धता दोहोर्याउन चाहन्छौं । साथै,हाम्रो यो यात्रामा पाठकबर्ग, विज्ञापनदाता, शुभचिन्तक लगायत सबैको सकारात्मक अनि रचनात्मक भूमिकाको अपेक्षा गरेका छौं । यहाँहरुको सहयोगले अर्थसंसारमा अझै चुस्तता आउने र विश्वसनीय सञ्चार माध्यमका रुपमा विकास हुनेमा हामी विश्वस्त छौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस