पोखराको लेकसाइड भन्नसाथ पर्यटकीय क्षेत्र भनेर सबैको मनमा आउँछ । जहाँ स्वदेशी तथा विदेशी पर्यटकको ओहोरदोहोर, भीडभाड, संगीत र कफी क्याफे रहेका छन् । पोखराको विशेषता बोक्ने नै लेकसाइड र तालै तालको सहर भनेर आम धारणा बनिसकेको छ । अझ भनौ पोखरा पुग्ने हरकोही एकपटक लेकसाइड पुग्ने र फेवातालमा डुंगा सयर गर्छन् ।
अब भने लेकसाइडमै पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले फरक अनुभूती गर्न पाउँने छन् । जोकोहीलाई तालले मात्र आकर्षण गर्दैन । सहर भित्र बनेका भौतिक संरचनालेसमेत लोभ्याउने गर्छ । वातावरणमैत्री, दीर्घकालीन सोच तथा विकासको नवीनतम् उद्देश्यसहित लेकसाइडको १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक समिश्रणसहितको प्रकृतिको आभास दिलाउने बगैँचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याउने भएको छ ।
साउनको दोस्रो सातादेखि पूर्ण रूपमा सुचारु हुनेछ । पोखराको प्रकृति, वरिपरि रहेको डाँडाकाँडा तथा हरियालीको आभास रिसोर्टले समेत दिने भएको छ । बगैँचा रिसोर्ट वातावरणमैत्रीको आभास दिलाउने र प्लाष्टिकरहित तथा प्रदुषणमुक्त वातावरण बनाइ जैविकमैत्री अभियानसहित सञ्चालन हुँदैछ । एकल महिलाद्वारा निर्मित सामग्री, स्थानीय क्षेत्रमा पाइने काठ, ढुंगा र हस्तकलामा आधारित सामग्रीले बनाइएका बगैँचाले मानिसलाई पुनः प्रकृतिसम्म पुर्याउने ग्रुपका सञ्चालक सौगात थापा बताउँछन् । ‘सहर भित्र पनि मानिसलाई प्रकृतिसँग नजिक राख्न सकिने उद्देश्य र वातावरणलाई जीवित तुल्याउन पनि बगैँचाले ठूलो योगदान पुर्याउने छ,’ उनले भने, ‘बाहिरको कोलाहलबाट मुक्ति दिलाउन सक्नु र शान्त वातावरण तथा वातावरणको दीर्घकालीन विकासलाई लामो समयसम्म राख्नु बगैँचाको उद्देश्य हो ।’ नेपाली माटो सुहाउँदो नाम हुँदा बगैँचाले सुन्दर अर्थ बोकेको हुनाले प्रकृतिसँग नजिक बनाउन खोजिएको उनको भनाइ छ । बगैँचाले प्रकृतिप्रेमी सेवाग्राही तथा पर्यटकलाई शान्त जीवनशैलीको महसुस गराउने निर्देशक थापाले बताए ।
मानिसहरू प्रकृतिबाट टाढा जान नसक्ने भएकाले प्रकृतिको नजिक लैजान यो शैलीको हस्पिटालिटी व्यवसाय सुरू गरिएको थापाले खुलाए । यहाँ आउने पाहुनाले व्यवसायीक रूपमा चाहेको सब कुरा पाउने गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए । बगैँचा रिसोर्टको कोठमा न्यानो काठका टोन, बाहिरबाट पातलो प्रकाश र हस्तकलाबाट बनेका फर्निचरका सामग्री राखिएको छ । कोठाको सजावटलाई बढी आकर्षक बनाएको छ । बगैँचाले प्राकृतिक अनुकुलतालाई पहिलो प्राथमिकतामा राखेको छ । प्लास्टिकको प्रयोगलाई पूर्ण रूपमा निषेध गरिएको छ ।
‘वातावरणमैत्री बनाएर प्रकृतिको संरक्षण गर्नु हामी सबैको दायित्त्व हो भनेर सन्देश दिएका छौ,’ उनी भन्छन्, ‘यहाँको सामग्रीहरू सबै वातावरणमैत्री रहेको छ । जसले गर्दा हाम्रो यहाँ आउनु हुने पाहुना र हामीले वातावरणलाई असर गर्दैनौ भनेर सन्देश पु¥याउँनेछौ ।’ महिला सशक्तीकरणलाई पहिलो प्राथमिकतामा राखेर लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको उनी बताउँछन् । लैङ्गिक समानता तथा आर्थिक सबलीकरणलाई बढी ध्यान दिएको उनले प्रस्ट पारे । महिलाहरूले निर्माण गरेका सामग्रीहरू राखिएको छ । महिलाद्वारा निर्मित सामग्रीहरू विभिन्न जिल्लाबाट मगाएर रिसोर्टमा राखिएको छ ।
एकल महिलालाई आर्थिक रूपमा सक्षम बनाउन उहाँहरूको सामग्री रिसोर्टमा प्रयोग गरिएको उनले बताए । ’हातले बनाएका सामग्री राखेका छौ,’ थापाले सुनाए, ‘नेपालमा स्थानीय वस्तुहरू प्रयोगमा ल्याएका छौ। लोपोन्मुख राउटे समुदायले प्रयोग गर्ने भाडाकुँडा छन् ।’ पछिल्लो समय जलवायु परिवर्तनको असर विश्वभर देखा पर्दै गएको छ । यसको असर नेपाल लगायत पोखरामा पनि देखा पर्न थालिसकेको छ । समयमा पानी नपर्ने तथा पानीको अभाव हुने जस्ता संकेत देखा पर्न थालिसकेका छन् । प्रकृतिको केही भर हुन्न भने जस्तै बगैँचाले अहिलेदेखि वर्षाको पानी संकलन गर्न थालिसकेको थापाले जानकारी दिए ।
उनी प्राकृतिक रूपमा सिर्जित पानीको प्रयोगलाई पहिलो प्राथमिकतामा राखिएको बताउँछन् । रिसोर्टलाई प्रदूषणमुक्त बनाउन इलेक्ट्रिक सवारीसाधन प्रयोग गरिएको छ । निर्देशक थापाले यातायातको रूपमा विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाइएको बताए । स्थानीय जैविक विविधतालाई संरक्षण गरेर वरिपरिको वातावरणलाई जगेर्ना गर्नु यस रिसोर्टको मुख्य उद्देश्य रहेको उनले बताए । थापाले रिसोर्टकै नाम अनुसार स्पाको समेत सेवा सुविधा रहेको जानकारी दिए । उनले अगाडि थपे, ‘नेपाली पारम्परिक उपचार पद्धतिबाट मसाज सेवा, ध्वनि उपचार ( साउन्ड हेलिङ् र सिङ्गिङ बाउल थेरापी) बगैंचाभित्र शान्त वातावरणमा हुने योग अभ्यासहरू र मानसिक पुनःस्थापनाका लागि समर्पित डिजाईन बगैंचाका विशेषता रहेका छन् ।’
यहाँको अर्को विशेषता भनेको स्थानीय जडीबुटीबाट तयार पारिएको विशेष चिया उपलब्ध गराइने उनले जानकारी दिए । अन्त कतै उपलब्ध नहुने यस बगैंचामा रिसोर्टमा मात्र चिया उपलब्ध हुन थापाले उल्लेख गरे । पोखरालाई तालै तालको सहर भनेर पनि चिनिन्छ । तर पर्यटन क्षेत्रमा बगैँचाले पोखराको परिचय बदल्ने उनको विश्वास छ । तालहरूमा शान्त बोटिङ र बगैंचामा रुखका छहारी तथा यसका हाँगाले पाहुनालाई आनन्द र शितलता प्रदान गर्ने धारणा थापाले सुनाए । बगैंचाको शान्त वातावरणले पाहुनालाई पुनः पोखराका लागि निम्ता दिइरहने उनको विश्वास छ ।
रिसोर्टको बनोट र संरचना फरक किसिमले बनाइएकाले पनि अझ बढी आकर्षण बढ्ने थापा बताउँछन् । बगैँचा पारिवारिकमैत्री रहेको उनले जानकारी दिए । ‘यहाँ परिवारसहित मजाले घुमेर आनन्द लिन सक्न गरे हामीले यहाँ भित्र संरचना तयार गरेका छौ,’ उनले सुनाए, ‘यहाँको विशेष सेवा परिवारमैत्री रहेको छ । जसले गर्दा पाहुनालाई आफ्नो घरमा बसेर आनन्द लिइरहेको जस्तो होस ।’ बगैँचामा दुई रेष्टुरेण्ट रहेको छ । मरिच इन्डो–चाइनीज र कन्टिनेन्टल खाना पाइन्छ । उमामी रेष्टुरेण्ट जसले परिष्कृत प्यान–एशियनको स्वाद लिन पस्कने उनले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस