उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का अध्यक्ष चेन सियाओडोङ नेतृत्वको प्रतिनिधिमण्डलबीच अर्थ मन्त्रालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।
भेटवार्तामा नेपाल–चीन सम्बन्ध, विकास साझेदारी, चीनको सहयोगमा सञ्चालन भइरहेका तथा आगामी परियोजनाहरूको बारेमा विस्तृत छलफल भएको हो।
भेटपछिको समारोहमा दुई देशबीच चार वटा प्रमुख परियोजनामा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट सेन्टरको निर्माण तथा निजामती कर्मचारी अस्पतालको विस्तारसम्बन्धी सम्भाव्यता अध्ययन सम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो। यी परियोजनाहरूमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनका तर्फबाट CIDCA अध्यक्ष चेन सियाओडोङले हस्ताक्षर गरे।
बोन म्यारो ट्रान्सप्लान्ट सेन्टर १८३४ वर्गमिटर क्षेत्रमा फैलिएको हुनेछ, जहाँ अत्याधुनिक उपकरण जडान गरी बोन म्यारो क्यान्सरको उपचारमा गुणात्मक सुधार ल्याउने लक्ष्य लिइएको छ। निजामती अस्पतालको सम्भाव्यता अध्ययनले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, नेपाल–चीनबीच मानव संसाधन विकाससम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर गरिएको छ। यसअन्तर्गत १२७० जना नेपाली सरकारी कर्मचारीहरूलाई चीनका विभिन्न संस्थाहरूले आयोजना गर्ने द्विपक्षीय तथा बहुपक्षीय सेमिनारहरूमा सहभागी गराइनेछ, जसले कर्मचारी क्षमताको स्तरोन्नति गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।
यसै अवसरमा रसुवागढी–केरुङ सिमापार ट्रान्समिसन लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्बन्धी माइन्युटमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र CIDCA अध्यक्षले हस्ताक्षर गरे। यो परियोजना सिमापार विद्युत व्यापारको सम्भावना अध्ययन र विस्तारमा मार्गप्रशस्त गर्नेछ। कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक र रणनीतिक साझेदारको रूपमा व्याख्या गर्दै, उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
अर्थ सचिव उपाध्यायले हस्ताक्षर गरिएका परियोजनाहरू स्वास्थ्य, मानव संसाधन विकास तथा ऊर्जा क्षेत्रमा नेपालका लागि उपयोगी र दीर्घकालीन फाइदाजनक हुने बताए।
भेटवार्ताका क्रममा रसुवा जिल्लामा हालैको बाढीबाट क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। CIDCA अध्यक्ष सियाओडोङले पुनर्निर्माण कार्यमा आवश्यक सहकार्य गर्ने र भन्सार प्रक्रियालाई छिटो तथा प्रभावकारी बनाइने जानकारी दिए। साथै, उनले नेपाल सरकारले विपद् पछिको उद्धार र बेपत्ता खोजीमा देखाएको तत्परताको उच्च मूल्यांकन गर्दै धन्यवाद प्रकट गरे।
अर्थमन्त्री पौडेलले भने, 'विपद् लगत्तैको पुनर्निर्माण हाम्रो राष्ट्रिय प्राथमिकता हो। आयात–निर्यातका लागि मात्र होइन, राजस्वका दृष्टिकोणबाट पनि रसुवा नाका अत्यन्त महत्वपूर्ण भएकाले पुनर्निर्माण कार्यलाई शीघ्रता दिनेछौं।'
चीनको चासो, सहयोग र सक्रियताप्रति उनले आभार व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस