उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजनाबद्ध विकास सफल बनाउन आवश्यकताअनुसार स्रोत परिचालन गर्नु जरुरी रहेको बताएका छन्। काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालले आयोजना गरेको ‘नेपाललाई अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति र बजेट कार्यान्वयनमा चुनौती’ विषयक सार्वजनिक नीति बहस कार्यक्रममा बोल्दै उनले विकासका प्राथमिकता र आवश्यकता अनुसार स्रोत व्यवस्थापन हुनुपर्नेमा जोड दिए।
उनका अनुसार पाँच दशक लामो योजनाबद्ध विकास यात्रामा अपेक्षाअनुसार काम र स्रोत व्यवस्थापन हुन नसक्नु प्रमुख चुनौती हो । ‘योजना निर्माण र बजेट विनियोजनलाई जोड्न सकेका छौँ कि छैनौँ भनेर गम्भीर समीक्षा गर्नुपर्छ’ उनले भने, ‘योजना निर्माण गर्दा प्राथमिकतामा ध्यान दिनुपर्छ ।’
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजना बैंकमा लागत र प्रतिफलको मूल्याङ्कन नगरी योजनाहरू समावेश गर्ने परिपाटीले विकास प्रक्रियामा समस्या उत्पन्न गरिरहेको उल्लेख गरेका छन्। उनका अनुसार हाल देशमा स्थिर र शक्तिशाली सरकार रहेको सन्दर्भमा योजनाहरूलाई आवश्यकताअनुसार र स्रोत व्यवस्थापनसँग जोडेर परिस्थिति अनुरूप बजेट विनियोजन गर्ने अवसर प्राप्त भएको छ। उनले तीन करोडभन्दा साना योजना संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय कार्यान्वयन गर्नसमेत ठूलो चुनौती सामना गर्नुपरेको जानकारी दिए।
त्यस्तै, अर्थमन्त्री पौडेलले नेपाललाई ‘ग्रे लिस्ट’बाट हटाउन अनौपचारिक अर्थतन्त्रको प्रभाव र पहुँचलाई मध्यनजर गर्दै नीतिगत सुधार गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस