नेपाल दूरसञ्चार प्राधिकरणले विनियमावलीविपरीत सञ्चालनमा रहेका वाई-फाई हटस्पट सेवाप्रति कडाइ गर्ने चेतावनी दिएको छ। आइतबार सार्वजनिक सूचनामार्फत प्राधिकरणले नियम उल्लंघन गर्दै अनुमति नलिई वाई-फाई हटस्पट सेवा सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायकहरूमाथि कारबाही गरिने स्पष्ट पारेको हो।
प्राधिकरणका अनुसार केवल आधारभूत दूरसञ्चार, मोबाइल वा टेलिफोन सेवाको अनुमति प्राप्त प्रदायकले मात्र वाई-फाईमार्फत सिमलेस कनेक्टिभिटी, रोमिङ वा मोबिलिटी सेवा दिन पाउने व्यवस्था छ। तर पछिल्लो समय विभिन्न सेवा प्रदायकहरूले तोकिएको प्रक्रिया र शर्तहरूको पालना नगरी सेवा दिँदै आएको पाइएको छ।
प्राधिकरणले वाई-फाई हटस्पट सञ्चालन गर्दा ‘रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीति, २०८०’ अन्तर्गतको दफा ७.४ र अनुसूची ४ मा उल्लिखित पावर लिमिट, ब्याकहल/ब्याकबोन प्रतिबन्धजस्ता प्रावधानहरू अनिवार्य पालना गर्न निर्देशन दिएको छ।
त्यस्तै, वाई-फाई हटस्पट सेवाका लागि प्रयोग हुने रेडियो उपकरण अनिवार्य रूपमा प्राधिकरणबाट टाइप-एप्रुभल प्राप्त हुनुपर्ने र स्वीकृत नभएका उपकरण प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस