नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाले आवेदन दिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख २६ गते १० दिनको समयसीमा तोकेर प्राधिकरण र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी प्रमुख पदका लागि आवेदन आह्वान गरेको थियो। साथै, मन्त्रालयले प्राधिकरणको अध्यक्षसहित चार सदस्य पदका लागि मंगलबारसम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो।
मन्त्रालयका सूचना अधिकारी रवीन्द्रप्रसाद पौडेलका अनुसार अध्यक्ष पदका लागि ३२ जना तथा चार सदस्य पदका लागि ३३ जनाको आवेदन परेको छ। अध्यक्ष पदका प्रतिस्पर्धीमा प्राधिकरणकै वर्तमान कर्मचारीदेखि नेपाल टेलिकमका पूर्वप्रबन्ध कर्मचारीसम्म रहेका छन्। केही उम्मेदवारले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन दिएको समेत खुल्न आएको छ।
मन्त्रालयका अनुसार प्राधिकरणको अध्यक्षबाहेक विभिन्न सदस्य पदका लागि पनि आवेदन परेको छ। प्राविधिक वा प्रशासनिक सदस्य पदमा १५ जना, लेखा तथा लेखापरीक्षण सदस्यमा ९ जना, बजार व्यवस्थापन सदस्यमा ५ जना तथा कानुनी सदस्य पदमा ४ जनाले आवेदन दिएका छन् । यस्तै, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि ११ जनाको आवेदन परेको छ।
आवेदकमध्ये सर्टलिस्टमा परेकाहरूलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइनेछ। त्यसपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछन्। कानुनी व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले तीमध्ये एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ।
बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेपछि १ हजार ५ सय ९४ जना पदमुक्त भएका थिए। त्यसयता सरकारले सम्बन्धित मन्त्रालय र मातहत निकायमार्फत रिक्त पदहरूमा नयाँ नियुक्ति प्रक्रिया अघि बढाइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस