म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा करिब ९ सय घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न स्थानमा ८७४ नयाँ विद्युत् उपभोक्ता थपिएको जानकारी दिएको छ ।
प्राधिकरणका म्याग्दी वितरण केन्द्र प्रमुख सत्यनारायण गामीका अनुसार मालिका गाउँपालिका–३ का पात्ले, लुप्सीपार, घ्याङलेपानी, वडा नं ४ को चिउरीबोट तथा धवलागिरि गाउँपालिकाको बुल र मलम्पार क्षेत्रमा सफलतापूर्वक विद्युतीकरण सम्पन्न गरिएको हो । त्यस्तै, धवलागिरि गाउँपालिका–२ का लुलाङ, लमसुङ, खोरिया, मरेनी, वडा नं ५ को मल्कवाङ, मालिका गाउँपालिका–४ को महभिर, ५ को पन्थोक र जुग्जामा समेत विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ। यी ठाउँमा पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडानको काम पूरा भइसकेको र उपभोक्ताले मिटर जडान गरेपछि पूर्ण रूपमा विद्युत् सेवा उपलब्ध हुने बताइएको छ।
अघिल्लो वर्ष अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् पु¥याइएको थियो भने घोडेपानीको वितरण लाइनको पनि स्तरोन्नति गरिएको थियो। यस क्षेत्रमा १३२ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन तथा रातोढुङ्गा सबस्टेशनमार्फत मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा विद्युत् आपूर्ति गरिएको हो ।
विगतमा सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा भर पर्नुपर्ने अवस्था थियो। तर अहिले घरघरमा बिजुली बल्न थालेपछि स्थानीयवासीमा उत्साह छाएको छ। धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीका अनुसार उज्यालोले घरायसी काम सजिलो हुनुका साथै विद्यार्थीको अध्ययन, साना उद्योग तथा व्यवसाय सञ्चालनमा समेत सहजता ल्याएको छ । म्याग्दी वितरण केन्द्र अन्तर्गत हालसम्म २३ हजार ८६९ ग्राहक रहेका छन्। प्राधिकरणका सूचना अधिकारी प्रकाश झाका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा एक हजार ४३८, २०७९/८० मा एक हजार २३८ र २०७८/७९ मा सात सय ७० घरमा नयाँ लाइन जडान गरिएको थियो ।
यस्तै, छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रका उपभोक्ताले समेत म्याग्दी वितरण केन्द्र अन्तर्गतको मिलनचोक सबस्टेशनमार्फत विद्युत् सेवा लिँदै आएका छन् । म्याग्दीका १४ स्थानमा रहेका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको सुविधा विस्तार गर्न प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि २२ करोड रुपैयाँको योजना सञ्चालनमा ल्याएको छ ।
गत आर्थिक वर्षमा म्याग्दी वितरण केन्द्रमार्फत १ करोड ७३ लाख ९५ हजार ७९७ दशमलव ७१ युनिट विद्युत् खपत भएकोमा रु २० करोड ३३ लाख ६३ हजार ३८१ महसुल संकलन गरिएको छ। समयमै महसुल नतिर्ने १४५ जना ग्राहकको लाइन काटिएको र तिनीहरूबाट कुल १३ लाख ४५ हजार ४०७ रुपैयाँ बक्यौता असुल गरिएको केन्द्रले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस