Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको नाफा ९२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

अर्थ संसार

मंगलबार, २० साउन २०८२, ०९ : २४ मा प्रकाशित

माछापुच्छ्रे बैंकको नाफा ९२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

माछापुच्छ्रे बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा ९२.४५ प्रतिशतले नाफा बढेको हो । 

गत आर्थिक वर्षको अन्तिमसम्ममा बैंकले कुल २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९९.९१ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ३१ पैसा बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ ।

११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको