Like us!
Follow us!
Connect us!
Watch us!

कानुनमन्त्रीको प्रष्टीकरण - बहुविवाहलाई वैधता दिने चर्चा झुटो हो,सरकारको यस्तो कुनै योजना छैन

अर्थ संसार

बुधबार, २१ साउन २०८२, १५ : ३१ मा प्रकाशित

कानुनमन्त्रीको प्रष्टीकरण - बहुविवाहलाई वैधता दिने चर्चा झुटो हो,सरकारको यस्तो कुनै योजना छैन

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिने तयारी भएको चर्चा पूर्णरुपमा गलत भएको बताएका छन्   । 

बुधबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै उनले मुलुकी अपराध संहिताले बर्जित गरेको बहुविवाहलाई वैधता दिने सरकारको कुनै योजना नरहेको बताएका हुन् । उनले भने,'समाजमा नकारात्मक प्रभाव पर्ने र सामाजिक मूल्य तथा मान्यतासँग मेल नखाने बहुविवाह जस्ता विषयमा कुनै पनि विधेयक यस सदनमा पेश हुने छैन।'

मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुविवाहलाई दण्डनीय अपराधको रूपमा तोकेको छ। तर केही समयअघि कानुन मन्त्रालयले ‘विशेष परिस्थितिमा’ बहुविवाहलाई वैधता दिने मस्यौदा तयार भएको भनी समाचार प्रकाशित भएपछि आलोचना भएको थियो।

यस विषयमा सदनमा उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले बहुविवाहलाई वैधता दिने गरी कानुन संशोधन गर्ने कुनै योजना  नभएको बताए।

उनले भने, 'सामाजिक व्यवस्था नै खलल पार्ने गरी कानुन बनाउने विषयमा कुनै सहमति हुन सक्दैन। मन्त्रिपरिषद्को विधायन समितिमा विधेयक मस्यौदा विचाराधीन अवस्थामा रहेकै समयमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गलत सूचना प्रकाशन भएको छ, जसप्रति मन्त्रालय सजग छ।'

तर, उनले मुलुकी अपराध संहिताका केही विद्यमान प्रावधानहरूमा आवश्यक संशोधन गर्ने तयारी भने रहेको जानकारी दिनुभयो। बहुविवाहसम्बन्धी होइन, बहुविवाहको उमेर, अग्रिम जमानत र राष्ट्रपतिबाट दिइने आममाफीजस्ता विषयमा विधेयकमा संशोधन प्रस्ताव आएको र त्यसअनुसार आवश्यक सुधार गर्ने निर्णय गरिएको उहाँले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको