नेसपा (नयाँ शक्ति पार्टी) का अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा कारागारमा भेट गरेका छन्।
लुम्बिनी प्रदेशस्तरीय दुईदिने विस्तारित बैठकमा सहभागी हुन गइरहेका बेला डा. भट्टराईले भैरहवामा रहेको कारागार पुगेर लामिछानेसँग भेट गरेका हुन्।
भेटपछिको प्रतिक्रिया दिँदै भट्टराईले भने, 'उहाँमाथि अझै अन्तिम फैसला भइसकेको छैन, न्यायिक हिरासतमा हुनुहुन्छ। कोही भाग्न सक्छ वा थप अपराध गर्न सक्छ भन्ने आधारमा हिरासतमा राख्ने चलन हो। तर जनताको निर्वाचित प्रतिनिधि भाग्नेवाला होइन। त्यसैले म त भन्छु, उहाँलाई बाहिर जमानतमा राखेर मुद्दा सामना गर्ने वातावरण मिलाउनु उपयुक्त हुन्थ्यो।'
भट्टराईले अदालतले कानुनी प्रक्रिया अनुसार निर्णय गर्ने भए पनि आफू राजनीतिक वैकल्पिक धारको प्रतिनिधि भएकाले लामिछानेलाई भेट्न गएका बताए। उनले जनप्रतिनिधिलाई थुनामा राख्दा त्यसको असर जनतालाई पर्ने भएकाले त्यसप्रति ध्यान दिनुपर्नेमा जोड दिए।
'जनताका प्रतिनिधिलाई यसरी थुनिँदा जनतामाथि नै अन्याय हुन्छ,' भट्टराईले भने, 'टोपबहादुर रायमाझीको प्रसङ्गमा पनि म यही भन्दै आएको थिएँ— या त सांसद पद खारेज गरेर चुनाव गराउनुहोस्। राजनीतिक हिसाबले अन्याय गर्नु हुँदैन।'
भट्टराईले रविलाई पत्रपत्रिका पढ्न समेत नदिएको गुनासो गरे। 'हामी पञ्चायतकालमा जेलमा हुँदा पनि साथीहरूले पत्रपत्रिका ल्याइदिन्थे, पढ्न पाइन्थ्यो,' उनले भने, 'तर उहाँलाई केही पनि पढ्न दिइएको छैन भन्ने थाहा पाएँ। प्रहरीसँग सोध्दा ‘आदेश छैन’ भने। कम्तीमा सूचनाबाट त वञ्चित गर्नु हुँदैनथ्यो। उहाँलाई राखिएको ठाउँ पनि उपयुक्त लागेन, त्यो म माथिल्लो निकायमा समेत राख्नेछु।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस