लामो समयदेखि अस्वस्थ रहेका कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको आइतबार राति निधन भएको छ । चितवन मेकिडल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा नन्दनको ९० वर्षको उमेरमा निधन भएको हो ।
उनी लामो समयदेखि श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित भएको नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानले जानकारी दिए । विसं २०११ मा ‘झटारो’ गितीसङ्ग्रह प्रकाशन गरेर नेपाली गीत सङ्गीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दनले गजल, कविता तथा अन्य काव्यमा कलम चलाएका छन् । यस्तै राष्ट्रिय गान छनोटका क्रममा उनको गीत उत्कृष्ट १० भित्र पर्न सफल भएको थियो । उनका गिती सङ्ग्रह अञ्जली २०२३, सपनीवाट ब्यूझेर २०२३, विपनीका पाइलाहरु २०५२, ऐनाभित्रको आकाश २०६३, सिद्धार्थको ग्रह त्याग लघु काव्य २०७४ र पत्रम पुष्पम कविता सङ्ग्रह २०७७ प्रकाशित भएका छन् । उनका धेरै गीत चलचित्र क्षेत्रमा चर्चित छन् ।
प्रधानका अनुसार उनले लामो समय बागिश्वरी, दोभान, मारुनी, गोधुलीलगायतका साहित्यिक पत्रिका पनि सम्पदान गरेका थिए । अनौपचारिक शिक्षा आर्जन गरेर गीत संगित र साहित्यमा लागेका नन्दन गायक, सङ्गीतकार तथा कलाकार पनि हुन् । उनले छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् ।
उनलाई रथारोहण तथा सम्मानसमेत गरिएको थियो । विसं १९९२ जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मिएका नन्दन पछि बसाइँ सरेर चितवनको नारायणगढ आएका हुन् । उनको पार्थिव शरीरको सोमबार धार्मिक तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । नन्दन नारायणी कलामन्दिरको पूर्वअध्यक्ष र सल्लाहकार थिए । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस