अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ । पदको दुरुपयोग गरी आफ्नो तथा परिवारका सदस्यहरूको नाममा अस्वाभाविक सम्पत्ति जोडेको पुष्टि भएपछि आयोगले आइतबार आरोपपत्र दर्ता गराएको हो।
आयोगले गरेको अनुसन्धान अनुसार, चौधरी २०६५ पुस ११ गते सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०८२ असार २९ गतेसम्मको अवधिमा उनको वैध आम्दानी २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ मात्रै देखिन्छ। तर, सोही समयमा उनले जग्गा खरिद, घर निर्माण, शेयर लगानी तथा विलासिताका वस्तुहरूमा कुल ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ खर्च र लगानी गरेको पाइएको छ।
यसरी उनको वैध आयको तुलनामा २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको खर्च र लगानीको स्रोत नखुलेको अख्तियारको ठहर छ । अख्तियारले चौधरीले आर्जन गरेको गैरकानुनी सम्पत्ति पत्नी अर्पना कुमारीको नाममा समेत राखेको फेला पारेको छ । सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पत्नी अर्पनालाई पनि प्रतिवादी बनाइएको छ । चौधरीले सम्पत्ति विवरण फाराम भर्दा वास्तविक विवरण लुकाएको र झुटा विवरण पेस गरेको समेत अनुसन्धानबाट खुलेको छ ।
आयोगले इन्जिनियर चौधरीसँग २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ । साथै, स्रोत नखुलेको सम्पत्तिबाट खरिद गरिएका घर, जग्गा र बैंक मौज्दात समेत जफत गर्न माग गरिएको अख्तियारले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस