कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले सवारीसाधनमा कर्जा प्रवाह गर्नु अघि बैंकले त्यसको ब्रान्ड, बजारमा रहेको स्वीकार्यता र बिक्रीपछिको सेवा जस्ता पक्षलाई सूक्ष्म रूपमा मूल्यांकन गर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वसाधारणको निक्षेप सुरक्षित राख्न लगानीपूर्व विश्लेषण आवश्यक हुने स्पष्ट पारे।
उनले भने,‘पेट्रोल र डिजेल गाडीको तुलनामा विद्युतीय सवारी (ईभी) को कर्जा माग बढिरहेको छ । हामीले विशेषगरी ईभी गाडीहरू कुन देशबाट आएको हो, आयातकर्ता को हो, बिक्रीपछिको सेवाको योजना के छ, र बजारमा त्यसको स्वीकार्यता कस्तो छ भनेर गहिरो अध्ययन गर्छौं,’गाडी आयातकर्ता तथा बिक्रेताहरूले बैंकलाई यी पक्षमा आश्वस्त पार्न सके मात्र कर्जा प्रवाह सहज हुन्छ ।’
उनले सजिलो फाइनान्सको अपेक्षा राख्नेले यी प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने बताए । ब्रान्ड भनेको नाम मात्र नभएर ग्राहकको विश्वास र धारणासँग जोडिएको विषय उनको भनाइ छ ।
उनले भने,‘यदि कुनै ब्रान्डलाई बजारले स्वीकार्न गाह्रो मानिरहेको छ भन्ने सङ्केत पाएमा, हामी त्यसमा लगानी गर्न हिचकिचाउँछौँ,गाडीको पुनर्विक्री मूल्य, बिक्रीपछिको सेवा र सर्वसाधारणको धारणाले कर्जा निर्णयमा ठूलो प्रभाव पार्छ।’
उनले व्यावसायिक र निजी सवारीसाधनमा कर्जा प्रवाह गर्दा विश्लेषणको आधार फरक हुने उल्लेख गरे। व्यावसायिक गाडीको हकमा ब्रान्ड र त्यसबाट आम्दानी आर्जन गर्ने क्षमतालाई प्राथमिकता दिइन्छ, जबकि निजी गाडीमा कर्जाग्राहीको आम्दानी स्रोत र ऋण तिर्न सक्ने क्षमतालाई मुख्य आधार बनाइन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस