अहिले बजारमा नेप्सेको १५ मिनेटको औसत मूल्यांकन प्रणालीको विषयमा विवाद देखिएको छ। यो व्यवस्थाले नै बजारमा गिरावट आएको भन्दै आलोचना भइरहेको छ।
केही समय अघि १५ मिनेटको औषत मूल्यांकनमा निकै त्रुटी भएर १५ मिनेटमा हुने औषत मूल्यांकन ३ घण्टा पछि भएको थियो । जसले लगानीकर्तामा निकै अन्यौलता छाएको थियो । हतारमा हटाउने भन्दा पनि यसमा परिमार्जनको आवश्यकता रहेको नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ ।
लगानीकर्ताहरुको आग्रह अनुसार नै यो व्यवस्था लागु गरिएकाले अहिले बजार घट्यो भन्दैमा हटाउन नहुने उनी बताउँछन् । ‘नेपाल धितोपत्र बोर्ड (सेवोन)ले बजारको औषत भारित मूल्य लगानीकर्ताकै आग्रहमा लागु गरेको हो । अहिले हतारमा यो हटाउनु पर्छ भन्ने पक्षमा म छैन,’ उनले भने । अर्थसंसारसँगको कुराकानीमा रौनियारले अन्तिम समयमा सेयरको मूल्य घटाउने र बढाउने क्रमलाई रोक्नका लागि यो व्यवस्था लागू गर्न लगानीकर्ताहरुले गरेको आग्रह अनुसार नै सेवोनले ल्याएको बताए । अन्तिम समयमा १० प्रतिशत बढाइदिने र घटाइदिने कारणले गर्दा त्यसलाई रोक्नका लागि सेयर बजारका विभिन्न संघ संगठनले यो कुरा उठाएको र त्यसलाई नै बोर्डले सम्बोधन गरेको उनको भनाइ छ ।
उनले भने,‘हामीहरुले नै सेवोनमा गएर यो व्यवस्था गर्नु पर्ने भनेको हो । यो किन भनेको भन्दा त्यो समयमा अन्तिमको १५ मिनेटमा १० प्रतिशतले बढाएर सर्किट लागाइदिने गरिन्थ्यो।’ यस्तो गरिनुको कारण आफ्नो सेयर मूल्य बढाउन र बैंकको मूल्यांकन बढाउनलाई गरिने गरेको उनको भनाइ छ । त्यसलाई रोक्नका लागि लगानीकर्ताहरुले यो नियम भारतमा पनि लागू छ भनेर भनेको र अहिले सोही अनुसार कार्यान्वयन भएको उनले बताए । ‘सेवोनमा अनुरोध गरेर नै यो व्यवस्था ल्याएको हो,’ उनले भने ।
हाम्रोमा लागु गर्दा केही मात्रामा यो नमिलेको जस्तो देखिएको उनको भनाइ छ । यसमा सेवोन र नेप्सेले विचार गर्नु पर्ने आवश्यकता रहेको उनले बताए । ‘जुनमा बदमास भएको छ त्यसमा मात्रै गर्ने हो कि ? सबैको गर्ने हो कि त्यसमा विचार गर्नु पर्ने हुन्छ,’ उनले भने । अहिले हाम्रोमा समग्रलाई नै औषत मूल्यांकन गरेकाले बजार घटेकाले यसको विरोध भएको हुन सक्ने उनको भनाइ छ । यो नियमलाई हटाउने भन्दा पनि परिमार्जन गरेर अघि बढ्नका लागि छलफल गर्नु पर्ने रौनियारले बताए । हतारमा नै यो हटाउने भन्दा त्यसमा सुधार गर्न सकिने उनको जिकिर छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस