Like us!
Follow us!
Connect us!
Watch us!

५९ प्रतिशतले बढ्यो सेयर बजारमा बीमा कम्पनीको लगानी, ३० अर्बको लगानी हुँदा कुन कम्पनीले कतिको सेयर किने ?

अर्थ संसार

विहीबार, १२ भदौ २०८२, १६ : ३५ मा प्रकाशित

५९ प्रतिशतले बढ्यो सेयर बजारमा बीमा कम्पनीको लगानी, ३० अर्बको लगानी हुँदा कुन कम्पनीले कतिको सेयर किने ?

पछिल्लो समय बीमा कम्पनीहरुले सेयर बजारमा गरेको लगानीमा उच्च वृद्धि देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षमा बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको भन्दा ५९.५८ प्रतिशतले सेयर बजारमा गर्ने लगानी वृद्धि गरेका हुन् । 

हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये १३ वटा कम्पनीले गत आवमा ३० अर्ब ५२ करोड २८ लाख रुपैयाँको सेयर खरिद गरेका छन् । अघिल्लो आर्थिक वर्षमा बीमा कम्पनीहरुले १९ अर्ब १२ करोड ६४ लाख रुपैयाँको लगानीमा सेयर बजारका विभिन्न कम्पनीका सेयर खरिद गरेका थिए । १३ वटा जीवन बीमा कम्पनीमध्ये सबै भन्दा धेरै सेयर बजारमा लगानी गर्ने कम्पनीको शीर्ष स्थानमा हिमालय लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब ८५ करोड ९७ लाख रुपैयाँ पुँजी बजारमा लगानी गरेको छ । यो अघिल्लो आको भन्दा ९१.७१ प्रतिशतले धेरै हो । अघिल्लो आवमा कम्पनीले पुँजी बजारमा ५ अर्ब ६६ करोड ४७ लाख रुपैयाँ लगानी गरेको थियो । 

पुँजी बजारमा धेरै लगानी गर्ने कम्पनीको दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सले गत आवमा ४ अर्ब १२ लाख रुपैयाँको लगानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा ४२.८१ प्रतिशतले धेरै हो । यो कम्पनीले गत आवमा २ अर्ब ८० करोड १८ लाख रुपैयाँ पुँजीबजारमा लगानी गरेको थियो ।  समीक्षा अवधिमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले पुँजीबजारमा गरिने लगानीर्लाइ १२९.०८ प्रतिशतले बढाएको  छ। कम्पनीले गत आवको अन्तिमसम्ममा पुँजीबजारमा २ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा यो कम्पनीले सेयर बजारका विभिन्न सेक्टरको सेयर खरिद गर्नका लागि १ अर्ब २७ करोड ७१ लाख रुपैयाँ लगानी गरेको थियो । त्यस्तै गत आवमा एलआइसी नेपालले २ अर्ब ३४ करोड २३ लाख रुपैयाँ पुँजी बजारमा लगानी गरेको देखिन्छ । यो अघिल्लो आवको भन्दा २८.६२ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो आवमा १ अर्ब ८२ करोड ११ लाख रुपैयाँ पुँजी बजारमा लगानी गरेको थियो । त्यस्तै एक आर्थिक वर्षमा सन नेपाल लाइफ इन्स्योरेन्सले पुँजी बजारमा गरेको लगानीलाई १५७.६६ प्रतिशतले बढाएको छ । यो कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ पुँजीबजारमा लगानी गरेको छ । अघिल्लो आवमा कम्पनीले ५८ करोड ६६ लाख रुपैयाँ पुँजी बजारमा लगानी गरेको थियो ।  त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पुँजीबजारमा गरेको आफ्नो लगानीलाई ४०.०७ प्रतिशतले बढाएर १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ पुर्याएको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा भने १ अर्ब ५ करोड ६ लाख रुपैयाँको लगानी गरेको थियो । त्यस्तै गत आवमा नेशनल लाइफ इन्स्योरेन्सले पुँजीबजारमा कुल १ अर्ब ३३ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । यो अघिल्लो आवको भन्दा १५२.६७ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आवमा जम्मा ५२ करोड ९९ लाख रुपैयाँ पुँजीबजारमा लगानी गरेको थियो । 

समीक्षा अवधिमा सबै भन्दा धेरै लगानी वृद्धि गरेको सिटिजन लाइफ इन्स्योरेन्सले गत आवमा पुँजी बजारमा १ अर्ब २९ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ । यो अघिल्लो आवको भन्दा ३३९.४१ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा सेयर बजारमा जम्मा २९ करोड ४५ लाख रुपैयाँको लगानी गरेको थियो । त्यस्तै गत आवमा आइएमई लाइफ इन्स्योरेन्सले १ अर्ब २२ करोड ३७ लाख रुपैयाँ पुँजी बजारमा लगानी गरेको छ । यो अघिल्लो आवको भन्दा ८४.१२ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आवमा पुँजी बजारमा ६६ करोड ४६ लाख रुपैयाँको लगानी गरेको थियो । समीक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुँजी बजारमा गरिने लगानीलाई ४९.५५ प्रतिशतले बढाएर १ अर्ब १५ करोड २९ लाख रुपैयाँको सेयर खरिद गरेको छ । यो कम्पनीले अघिल्लो आवमा ७७ करोड ९ लाख रुपैयाँको सेयर खरिद गरेको थियो । 

त्यस्तै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत वर्ष पुँजी बजारमा ९९ करोड २ लाख रुपैयाँ लगानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिमो भन्दा ४६.४८ प्रतिशतले धेरै हो । यो कम्पनीले अघिल्लो आवमा ६७ करोड ५९ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको थियो । गत आर्थिक वर्षमा एशियन लाइफ इन्स्योरेन्सले ८६ करोड ४३ लाख रुपैयाँ पुँजी बजारमा लगानी गरेको छ । यो अघिल्लो आवको भन्दा ४.२७ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा ८२ करोड ८९ लाख रुपैयाँको सेयर खरिद गरेको छ । 

सरकारी मानक बनिरहेको राष्ट्रिय जीवन बीमा कम्पनीको पुँजी बजारमा गरेको लगानी भने घट्दो क्रममा रहेको छ । निजी क्षेत्रका सबै कम्पनीले अघिल्लो आवको तुलनामा लगानी बढाएको भए पनि यो कम्पनीको लगानी अघिल्लो आवको भन्दा ७४.७० प्रतिशतले घटेर गत ५४ करोड ६२ लाख रुपैयाँमा सिमित भएको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा पुँजी बजारमा २ अर्ब १५ करोड ९४ लाख रुपैयाँ लगानी गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको