ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले होटल व्यवसाय पर्यटनसँग प्रत्यक्षरूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यसलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखी आवश्यक सुविधा दिने विषयमा सरकार गम्भीर रूपमा लागेको बताएका छन्।
मंगलबार जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालसहितको टोलीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खड्काले पर्यटन र होटल व्यवसायले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गरे। उनले यसको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न उत्पादनमूलक उद्योगसरह सहुलियत दिनेबारेमा सरकार सकारात्मक रहेको बताए ।
संघले बुझाएको ज्ञापनपत्रमा होटल व्यवसाय निरन्तर घाटामा परिरहेको, सञ्चालन खर्च धान्न कठिन भइरहेको र विजुली महशुल उत्पादनमुखी उद्योगसरह छुटको व्यवस्था तत्काल आवश्यक रहेको उल्लेख गरिएको छ। संघका पदाधिकारीले पर्यटन क्षेत्रलाई राजश्व आर्जन गर्ने मात्र नभई विदेशी मुद्रा भित्र्याउने, रोजगारी सिर्जना गर्ने र नेपाल चिनाउने माध्यमका रूपमा समेत योगदान पुर्याएको बताउँदै होटललाई विशेष सुविधा दिनुपर्ने माग गरेका थिए।
सरकारले सन् २०८२/८३ को बजेटमा होटल र रेस्टुरेन्टलाई उत्पादनमुखी उद्योगसरह मान्यता दिँदै विद्युत् महशुलमा छुटको व्यवस्था गर्ने घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको संघको गुनासो छ। संघका पदाधिकारीले बजेट कार्यान्वयनमा ढिलासुस्तीका कारण व्यवसाय थप संकटमा परेको भन्दै तत्काल निर्णय गर्न आग्रह गरेका छन्।संघका अध्यक्ष सुरेश बरालले हालको आर्थिक मन्दी र निराशाजनक व्यवसायिक अवस्थाबीच होटल व्यवसायीलाई विजुली महशुल छुटले ठूलो राहत दिने विश्वास व्यक्त गरेका थिए । उपाध्यक्ष कुमार श्रेष्ठ, उपमहासचिव शिवलाल गिरी, सचिवालय सदस्य खेमराज उप्रेती, होटल तथा पर्यटन व्यवसायी बागमती प्रदेशका सचिवालय सदस्य सन्जिब श्रेष्ठ लगायतको संयुक्त टोलीले मन्त्री खड्कालाई भेटगरी ध्यानाकर्षण गराउनु भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस