संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी बन्न नसक्ने बताएकी छन् । उनका अनुसार, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्नका लागि सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अनिवार्य छ।
२२औं निजामती सेवा दिवस–२०८२ को अवसरमा सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीहरुलाई बधाई तथा शुभकामना सन्देश दिँदै मन्त्री न्यौपानेले सो धारणा व्यक्त गरिन्।
उनले सूचना प्रविधिको युगमा निजामती कर्मचारीहरूले प्रविधिमैत्री, नागरिक केन्द्रित, सरल र छिटो सेवा प्रदान गर्नु आवश्यक रहेको बताएकी छन् ।
‘आजको युगमा विश्व तीव्र गतिमा रुपान्तरण भइरहेको छ । डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा र नवप्रवर्तनशील उपायहरुको उपयोग नगरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिँदैन,’ मन्त्री न्यौपानेको शुभकामना सन्देशमा लेखिएको छ, ‘निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल स्पारदर्शी सेवा दिनु अनिवार्य बनेको छ ।’
निजामती सेवामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि, व्यावसायिकता, निरन्तर सिकाइ र सुधार मार्फत नागरिकको विश्वास आर्जन गर्न सकिने बताउँदै मन्त्री न्यौपानेले राज्यप्रति जिम्मेवार, सदाचारयुक्त, परिणाममुखी र सिर्जनशील प्रशासनिक संरचना निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गरेकी छन् । उनले निजामती सेवा दिवसले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई देश र जनताको सेवा गर्न अझ प्रोत्साहित गर्ने विश्वास समेत व्यक्त गरेकी छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस