नेपालमा पछिल्ला दिनहरूमा भएका घटनाहरूले मेरो मनलाई गहिरोसँग छोएको छ। देशमा रोजगारी सिर्जना गर्ने, समाजसेवामा आफूलाई समर्पित गर्ने र देशभित्रै बसेर समृद्धिको सपना देख्ने व्यक्तिहरूमाथि आक्रमण हुँदा हामीहरू, साधारण नागरिकहरू, मौन रहन बाध्य भएको देख्दा लाचार महसुस हुन्छ । यो मौनताले हाम्रो समाजको भविष्यलाई नै प्रश्नचिह्न लगाइरहेको छ । मिनबहादुर गुरुङ, एक यस्ता व्यक्तित्व, जसले आफ्नो मेहनत र समर्पणले हजारौं नेपाली परिवारको जीवन उज्यालो बनाए, तर आज उनैको सपनाहरू आगोको ज्वालामा भस्म भएको देख्दा मन भित्रैदेखि पीडित छ । यो लेखमार्फत् म उहाँलाई हौसला दिन चाहन्छु र हाम्रो समाजलाई सकारात्मक परिवर्तनको बाटोतर्फ डोर्याउन चाहन्छु ।
एक सानो किरानाबाट सुरु भएको सपना… मिनबहादुर गुरुङ - यो नाम केवल एक व्यवसायीको नाम होइन, यो त हजारौं नेपालीहरूको जीविकोपार्जनको आधार हो। उनले एउटा सानो किराना पसलबाट सुरु गरेको यात्राले आज भाटभटेनी सुपरमार्केट चेनलाई देशका विभिन्न कुनामा विस्तार गरेको छ । यो सुपरमार्केट चेनले हजारौं युवाहरूलाई रोजगारी प्रदान गरेको छ, जसले गर्दा धेरै परिवारहरूले सम्मानजनक जीवन जिउन सकेका छन् । भाटभटेनीले केवल सामान बेच्ने पसलको रूपमा मात्र काम गरेको छैन, यसले स्थानीय उत्पादकहरूलाई बजार प्रदान गरेको छ, नेपाली अर्थतन्त्रलाई बलियो बनाउन योगदान गरेको छ र उपभोक्ताहरूलाई सुलभ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराएको छ ।
मिनबहादुर गुरुङको यो यात्रा सजिलो थिएन । उनले रातदिन मेहनत गरेर, असंख्य चुनौतीहरू पार गरेर भाटभटेनीलाई यो उचाइमा पुर्याए । उनको यो सफलताले हामीलाई एउटा सन्देश दिन्छ - मेहनत, लगनशीलता र देशप्रतिको मायाले असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ । तर यही सफलताले उनलाई समाजको निशानामा पनि पुर्यायो ।
समाजसेवामा अमूल्य योगदान
मिनबहादुर गुरुङको योगदान केवल व्यवसायसम्म सीमित छैन । उनले समाजसेवामा पनि उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। त्रिवि शिक्षण अस्पतालमा उनको नेतृत्वमा निर्माण भएको अत्याधुनिक आकस्मिक कक्षले हजारौं बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेलेको छ। यो कक्षले विशेषगरी आर्थिक रूपमा कमजोर वर्गका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको छ । यस्तै, डा. भगवान कोइरालाले निर्माण गर्न लागेको नयाँ अस्पतालका लागि उनले करोडौं रुपैयाँको सहयोग प्रदान गरेका छन् । यस्ता कार्यहरूले उनको मनको उदारता र समाजप्रतिको जिम्मेवारीलाई प्रष्ट पार्छ ।
उनले अस्पतालहरूमा मात्र होइन, शिक्षा र अन्य सामाजिक क्षेत्रमा पनि योगदान दिएका छन् । यस्ता दानवीरहरूले समाजलाई सधैं उज्यालो दिन्छन् । तर प्रश्न यो छ - हामीले उहाँजस्ता व्यक्तिहरूलाई के पुरस्कार दियौं? आगलागी, लुटपाट र विध्वंस!
Gen Z आन्दोलन र भाटभटेनीमाथिको आक्रमण
हालै नेपालमा चलेको Gen Z आन्दोलनले धेरै कुरा उजागर गरेको छ । यो आन्दोलनले युवाहरूको असन्तुष्टि र परिवर्तनको चाहनालाई व्यक्त गरेको छ, जुन स्वाभाविक पनि हो । तर यो आन्दोलनको क्रममा भाटभटेनी सुपरमार्केटका धेरै स्टोरहरू लक्षित भए । चारवटा स्टोर र एउटा गोदाम पूर्ण रूपमा आगलागीबाट क्षतिग्रस्त भए । अन्य स्टोरहरूमा लुटपाट र तोडफोड भयो । सवारी साधनहरूमा पनि ठूलो क्षति पुग्यो। धेरै अर्बको क्षति बनाएको छ, यो घटना केवल एक व्यवसायीको सम्पत्तिमाथिको आक्रमण होइन, यो त हजारौं कामदारहरूको रोजीरोटी र उनीहरूका परिवारको भविष्यमाथिको प्रहार हो।
यो दृश्यले हामीलाइ गहिरोसँग सोच्न बाध्य बनाएको छ । हामी किन योगदान गर्नेहरूलाई शत्रु ठान्छौं? हामी किन रोजगारी सिर्जना गर्ने घरहरू जलाउँछौं? के यो हाम्रो समाजको न्याय हो? भाटभटेनीमा काम गर्ने हजारौं युवाहरू, जसले बिहान - बेलुका पसिना बगाएर आफ्ना छोराछोरीको भविष्य बनाउँदै थिए, आज उनीहरूको रोजगारी अनिश्चित भएको छ। एउटा पसल मात्र जलेको होइन, हजारौं सपनाहरू जलेका छन् । यो घटनाले हाम्रो समाजको नैतिकता र दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ ।
हाम्रो इतिहास र दोहोरिएको गल्ती
यो घटनाले हामिलाइ हाम्रो इतिहास सम्झाउँछ । हाम्रो अघिल्लो पुस्ताले पनि आन्दोलनको नाममा उद्योगहरू जलाए, सडकहरू भत्काए र तोडफोड गरे। त्यसको परिणामस्वरूप, लाखौं नेपालीहरू रोजगारीका लागि विदेशिन बाध्य भए। हिजोका ती गल्तीहरूको भुक्तभोगी हामी नै हौं। हाम्रा आमा–बाबुहरूले परदेशमा पसिना बगाउनुपर्यो, किनभने हामीले देशभित्रै रोजगारी सिर्जना गर्ने संरचनाहरूलाई बचाउन सकेनौं। आज Gen Z ले त्यही गल्ती दोहोर्याएको देख्दा मेरो मन रोइरहेको छ।
आन्दोलनको नाममा हिंसा र विध्वंसले समस्याको समाधान गर्दैन। यसले त झन् नयाँ समस्या सिर्जना गर्छ। हामीले बुझ्नुपर्छ कि परिवर्तनको लागि आवाज उठाउनु आवश्यक छ, तर हिंसाले केवल विनाश निम्त्याउँछ। भाटभटेनीमाथिको यो आक्रमणले हामीलाई यो सिकाउँछ कि हामीले हाम्रा असन्तुष्टिहरूलाई सकारात्मक बाटोबाट व्यक्त गर्न सिक्नुपर्छ।
मिनबहादुर गुरुङको समर्पण र हाम्रो मौनता
मिनबहादुर गुरुङ कुनै राजनीतिक पार्टीसँग निकट हुनुहोला, कुनै विचारधारासँग मेल खानुहोला, तर सत्य के हो भने उनले यस देशका लागि गरेको योगदान अमूल्य छ। उनले आफैंले भनेका थिए - “म मेरो सम्पत्तिको ५०% देशलाई दिन तयार छु। देश धनी हुन्छ भने यो कोट पनि फुकालेर दिन तयार छु।” यस्तो उदार मन भएको व्यक्ति कसरी समाजको शत्रु बन्छ? यो प्रश्नले हामीलाई सताइरहन्छ। हामीले उनको त्यो मनलाई सम्मान गर्नुको सट्टा, उनको मेहनत र समर्पणलाई आगोको ज्वालामा सुम्पियौं ।
यो लेख लेख्दै गर्दा मेरो मन भित्रैदेखि पीडित छ । मलाई लाग्छ—भाटभटेनी मात्र जलेको छैन, हाम्रो भविष्य, हाम्रो रोजीरोटी र हाम्रो आशा पनि जलेको छ। तर यो पीडाबाट पनि हामीले केही सिक्नुपर्छ। विध्वंसले कहिल्यै भविष्य बनाउँदैन। निर्माण गर्नेहरूको कदर गर्न नसक्ने समाज कहिल्यै सम्पन्न हुँदैन। हामीले अब यो मौनता तोड्नुपर्छ। हामीले योगदानकर्ताहरूलाई समर्थन गर्नुपर्छ, उनीहरूको मेहनतलाई सम्मान गर्नुपर्छ ।
हौसला र एकताको सन्देश
म यो लेखमार्फत् मिनबहादुर गुरुङ सरलाई हौसला दिन चाहन्छु। तपाईंको योगदानलाई हामीमध्ये धेरैले सम्मान गर्छौं। तपाईंले देखाएको समर्पण र देशप्रतिको माया कहिल्यै नजल्ला ।
तपाईंका पसलहरू जले होलान्, तर तपाईंको आत्मबल र देशलाई समृद्ध बनाउने सपना कहिल्यै मर्नेछैन। यो मुलुकलाई तपाईं जस्ता उद्यमीहरूको सधैं आवश्यकता छ । हामी तपाईंसँग छौं ।
यो घटनाले हामीलाई एकजुट हुन सिकाउनुपर्छ । हामीले सकारात्मक परिवर्तनका लागि हिंसारहित बाटो रोज्नुपर्छ। हामीले बुझ्नुपर्छ कि रोजगारी सिर्जना गर्नेहरू हाम्रा शत्रु होइनन्, उनीहरू हाम्रो समाजका आधारस्तम्भ हुन्। मिनबहादुर गुरुङजस्ता व्यक्तिहरूको मेहनतले नै हाम्रो देश समृद्ध बन्न सक्छ। आउनुहोस्, हामी सबै मिलेर हिंसालाई त्यागौं र निर्माणको बाटोमा लागौं ।
लेखक -
नबीन पौडेल
(नेपालमै बसेर सूचना प्रबिधि र विभिन्न ब्यबसायमा संलग्न )
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस