अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले अब घरघरमै पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। मंगलबार नीति तथा कार्यक्रममाथि संसद्का दुवै सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले इमानदार र लगानीमुखी निजी क्षेत्रले डराउनुपर्ने अवस्था नरहेको बताए।
उनले सरकार आवश्यक कानुनी सुधार, नीतिगत स्थायित्व र सहजीकरण गर्न तयार रहेको स्पष्ट पारे। साथै राज्य र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहले देश दोहन गर्ने प्रवृत्तिलाई अब संरक्षण नगर्ने चेतावनी दिए।
अर्थमन्त्री वाग्लेले आसेपासे समूह, नीतिगत कब्जा र मिलेमतोमार्फत हुने गलत काम नियन्त्रण गरेर सुशासनको लाभ आम नागरिकसम्म पुर्याउने सरकारको लक्ष्य रहेको बताए। आगामी बजेट पनि यही सोचअनुसार आउने उनको भनाइ थियो।
उनले प्रतिपक्ष दललाई परिवर्तनको यात्रामा अवरोध नगरी रचनात्मक भूमिका खेल्न आग्रह गरे। मध्यम वर्ग विस्तारको अर्थ केही सीमित व्यक्तिलाई मात्र सुविधा दिनु नभएको पनि उनले स्पष्ट पारे।
वाग्लेले सुशासनबिना दिगो आर्थिक विकास सम्भव नरहेको उल्लेख गर्दै भ्रष्टाचार, ढिलासुस्ती, बिचौलियातन्त्र र संस्थागत कब्जाले राज्यप्रति नागरिकको विश्वास कमजोर बनाएको बताए। सरकारले प्रणाली सुधारमार्फत आर्थिक सुधारको काम अघि बढाइरहेको उनको भनाइ छ।
उनका अनुसार सरकारको लक्ष्य आयात र उपभोगमा आधारित अर्थतन्त्रलाई उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित गतिशील अर्थतन्त्रमा रूपान्तरण गर्नु हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस