सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई रकम वितरण गरेको हो।
समितिका अनुसार बुधबार कृषि सहकारीका ८८ जना तथा शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन्। यसअघि कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना गरी कुल ३ सय ७८ जना साना बचतकर्तालाई रकम फिर्ता गरिएको थियो।
समितिले पहिलो चरणमा कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिरहेको जनाएको छ। आगामी दिनमा पनि बचत रकमको आधारमा वर्गीकरण गर्दै क्रमिक रूपमा रकम फिर्ता गरिने बताइएको छ।समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।
समितिका अनुसार ५ लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना बचतकर्ता र ५ लाखभन्दा बढी बचत भएकालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल ७६ हजार बचतकर्तामध्ये १८ हजार जनाले ५ लाखभन्दा बढी रकम बचत गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस