नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका लागि नयाँ सवारीसाधन खरिद नगर्ने स्पष्ट घोषणा गर्नुभएको छ। सोमबार पदभार ग्रहण गर्दै उहाँले “जे छ, त्यही साधनमा काम चलाइनेछ, नयाँ किनिने छैन” भन्ने धारणा राख्नुभयो।
हालै सिंहदरबार क्षेत्रमा जेन–जी प्रदर्शनका क्रममा आगजनी हुँदा अर्थ मन्त्रालयका थुप्रै सवारीसाधन जलेर नष्ट भएका थिए। तर अर्थमन्त्री खनालले वर्तमान सरकारको प्रमुख कार्य निर्वाचन सम्पन्न गर्नु भएकाले नयाँ गाडी किनेर खर्च बढाउने उद्देश्य नभएको बताउनुभयो।
“पूरक बजेट ल्याइँदैन, तर निर्वाचनका लागि खर्च प्राथमिकतामा राखेर व्यवस्थापन हुन्छ,” उहाँको भनाइ छ। राजनीतिक दबाबमा प्रोजेक्ट बैंकमा राखिएका अपूरा तथा टुक्रे आयोजना खारेज गरिँदै जाने र यसबाट करिब एक खर्ब रुपैयाँ जोगिने जानकारी पनि उहाँले दिनुभयो।
प्रदर्शनका कारण नष्ट भएका सार्वजनिक तथा निजी सम्पत्तिको क्षति आकलन गरेर पुनर्निर्माणको तयारी गर्नुपर्ने पनि उहाँले जोड दिनुभयो। “सबैभन्दा पहिले अर्थ मन्त्रालयलाई पुनः रंगरोगन गरेर हामी उठिसकेका छौँ भन्ने सन्देश दिनुपर्छ,” मन्त्री खनालले भने।
त्यस्तै, निजी क्षेत्रको मनोबल उकास्न सरकार जिम्मेवार रहेको भन्दै वित्तीय प्रणाली र बजार सन्तुलनका लागि नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर अघि बढ्ने योजना प्रस्तुत गर्नुभयो।
खनालले करदाताको कर सदुपयोग गर्नुपर्नेमा जोड दिँदै कर्मचारीलाई “जानेर वा नजानेर गल्ती नगर्न” चेतावनी दिनुभयो। भ्रष्टाचारविरुद्धको संघर्षमा धेरै युवाले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उहाँले आफ्नो भूमिका पनि त्यसको म्यान्डेट पूरा गर्ने दिशामा हुने प्रतिवद्धता व्यक्त गर्नुभयो।
राजस्व असुलीमा आवश्यक कठोरता भए पनि सेवाग्राहीलाई सजिलो हुनेगरी काम गर्नुपर्ने उहाँको भनाइ थियो। “कुनै काम गराउन बिहान–साँझ घरमा माग गर्न आउनु हुँदैन,” भन्दै उहाँले आफ्नो सचिवालय न्यूनतम राख्ने घोषणा गर्नुभयो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस