रामेश्वर प्रसाद खनालले राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायबीच आपसी समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले प्रणालीगत सुधारका लागि गरिएका प्रयासहरूलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिए।
उनले राजस्व संकलन तथा परिचालनमा देखिएका चुनौती समाधान गर्न एकीकृत रणनीति आवश्यक रहेको उल्लेख गरे। राज्यका सबै निकायले आफ्नो–आफ्नो क्षेत्राधिकारअनुसार राजस्व चुहावट नियन्त्रण र राजस्व वृद्धिमा सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। पारदर्शिता, जवाफदेहिता र प्रविधिको अधिकतम प्रयोगमार्फत राजस्व संकलन प्रणालीमा सुधार सम्भव रहेको उनले बताए।
कार्यक्रममा दानबहादुर कार्कीले राजस्व चुहावट नियन्त्रणलाई केवल आर्थिक विषयका रूपमा नभई राष्ट्रिय सुरक्षा, सुशासन र समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको मुद्दाका रूपमा लिनुपर्ने धारणा राखे। नेपाल प्रहरीले आफ्नो संस्थागत क्षमताअनुसार राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उनले जानकारी दिए।
उनका अनुसार प्रविधिको प्रभावकारी उपयोग, दक्ष जनशक्ति व्यवस्थापन, कानुनी संरचनाको सुदृढीकरण र अन्तर–निकाय समन्वयमा रणनीतिक सहयोग प्राप्त भए दीर्घकालीन र प्रभावकारी नतिजा हासिल गर्न सकिनेछ।
बैठकमा प्रहरी नायब महानिरीक्षक विश्व अधिकारीले राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा नेपाल प्रहरीको भूमिकाबारे प्रस्तुतीकरण गरेका थिए। साथै, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले राजस्व परिचालन र चुहावट नियन्त्रणसम्बन्धी विविध विषयमा जानकारी गराएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस