नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीले नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को राजीनामा माग गरेका छन् । कर्मचारीहरुले आज प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष हेमन्त बस्याल र सीईओ चुडामणि चापागाईको राजीनामा माग गरेका हुन् ।
नेप्से कर्मचारी संघले राजनीतिक दलका कार्यकर्ता, राजनीतिक प्रभाव र भागबन्डाका आधारमा नेप्सेको अध्यक्षमा बस्याल र सीईओमा चापागाईं नियुक्त भएको भन्दै राजीनामा दिनु पर्ने माग गरेको छ । बस्यालको कन्सल्टेन्सी र नेप्सेबीच पुरानो भुक्तानीसम्बन्धी विवाद रहेकै अवस्थामा उनी अध्यक्षमा नियुक्त हुनु स्वार्थ बाझिने संघले दाबी गरेको छ । ‘पुरानो हिसाब मिलाउने गलत उद्देश्यले बस्याल नेप्सेमा प्रवेश गरेको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘स्वार्थ बाझिने कुरा गर्ने स्वयं बस्यालले तत्काल राजीनामा दिनुपर्छ । उनलाई नियुक्त गर्ने प्रक्रियामा संलग्न सबैलाई छानबिनको दायरामा ल्याउन आवश्यक छ ।’
यसैगरी सीईओ चापागाईंले एक्लैले गर्न नसकेको कामलाई समर्थन गर्न बस्याल ‘अतिरिक्त शक्ति’का रुपमा नेप्सेमा आएको विज्ञप्तिमा उल्लेख छ । ‘एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टमा सीईओका रुपमा मासिक ५ लाख रुपैयाँ तलब र अन्य सुविधा छाडेर नेप्सेमा प्रतिबैठक २ हजार ५०० रुपैयाँ भत्ता बुझ्ने गरी आउनुले नै उनको नियतप्रति ठूलो प्रश्न खडा गरेको छ’, विज्ञप्तिमा भनिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस