मुस्ताङ जिल्लामा आगामी केही दिनसम्म मौसम अत्यधिक प्रतिकूल रहने अनुमान गरिएको भन्दै स्थानीय प्रशासनले पदयात्री तथा पर्यटकहरूलाई उच्च हिमाली पदमार्गमा यात्रा नगर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा जल तथा मौसम विज्ञान विभागले बुधबारसम्म लगातार हिमपात र वर्षाको सम्भावना रहेको सूचित गरेपछि यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार मुस्ताङ–डोल्पा मार्ग, पाँच हजार आठ सय मिटर उचाइमा रहेको याकखर्क क्षेत्र, पाँच हजार चार सय मिटर उचाइको थोरङ ला पास (मनाङ–मुस्ताङ), छ हजार मिटर आसपासको सरिबुङ पास (मनाङ–मुस्ताङ) र धौलागिरि पदमार्गको धम्पुस पिक लगायत क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने सम्भावना छ।
उनका अनुसार यी क्षेत्रमा प्रतिकूल मौसमका कारण पदयात्रीको सुरक्षामा जोखिम बढ्ने भएकाले अस्थायी रूपमा यात्रा स्थगन गर्न अनुरोध गरिएको हो।
साथै प्रशासनले जिल्लाको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक, तीर्थयात्री तथा स्थानीय सर्वसाधारणलाई यात्रा अघि मौसमको जानकारी लिएर मात्र निस्कन आग्रह गरेको जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस