अपि पावर कम्पनी लिमिटेडको नाफा ४४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत आवको सोही अवधिको तुलनामा ४४.६१ प्रतिशतले नाफा वृद्धि भएको हो ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा १८ करोड १७ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण खुद नाफामा टेवा पुगेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १३.३१ प्रतिशत बढेको छ भने कुल नाफा १०.७९ प्रतिशत बढेको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ३७.५७ प्रतिशत घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ७४ पैसा बढेर १७ रुपैयाँ ३० पैसा पुगेको छ । पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.६२ गुणा रहेको छ ।
६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ८९ करोड ५७ लाख रुपैयाँ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस