नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान,नेपाल’बीच एकता गर्न सात बुँदे सहमति भएको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, र जागरण अभियानका तर्फबाट भीम रावलले औपचारिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
सहमति अनुसार दुबै पक्षले नेपाल र नेपाली जनताको सर्वोच्च हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै प्रतिबद्धता जनाएका छन्। साथै, बाह्य हस्तक्षेप र दबाबबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिको विकास, समाजवाद तथा सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिका लागि काम गर्ने सहमति भएको छ।
दुबै पक्षले आगामी ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन गरी पूर्ण एकता गर्ने योजना बनाएका छन्। नेपाली कम्युनिस्ट पार्टीमा भीम रावलको वरीयता र जिम्मेवारी आन्तरिक सहमतिपछि तय गरिने पनि सहमतिमा उल्लेख गरिएको छ।
सात बुँदे सहमति :
- नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवाववाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने ।
- समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने ।
- आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने। महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने। सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने ।
- नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमी जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने ।
-पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने ।
- पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने। सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने ।
-पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस