Like us!
Follow us!
Connect us!
Watch us!

'युवाको हातमा कर्णालीको भविष्य'

अर्थ संसार

बुधबार, २८ साउन २०८२, ११ : ५७ मा प्रकाशित

'युवाको हातमा कर्णालीको भविष्य'

'कर्णाली' यो नाम मात्र उच्चारण गर्दा पनि आँखामा हिमालको चिटिक्क परेको सेतो टोपी देखिन्छ, कानमा सुनिन्छ निर्मल नदीहरूको निरन्तर बहाव, र मनमा आउँछ अनगिन्ती गाउँ–घरहरूको तस्विर जहाँ मान्छेको मुटुमा माया छ, हातमा श्रम छ, तर आँखामा अझै अधुरो सपना छ।

यो सपना हो आत्मनिर्भर, सम्पन्न, र गौरवमय कर्णालीको। कर्णाली केवल नेपालको एक भू–भाग होइन, यो त सम्पूर्ण देशको आत्मा हो। यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, ऐतिहासिक गौरव यी सबै अमूल्य सम्पदा हुन्। तर विडम्बना के छ भने, यी सम्पदाको संरक्षण र विकासको जिम्मा लिने पुस्ता हामी युवामात्र हौं,अनि हामीकै हातमा यसको भविष्यको चाबी छ । आजको कर्णाली स्रोतमा धनी छ तर साधनमा गरिब। सम्भावनामा असीम छ तर अवसरमा सीमित। यहाँको नदी जलविद्युत उत्पादन गर्न सक्षम छन्, पहाड जडीबुटीको खानी हुन्, जंगल वन्यजन्तुको आश्रय हो, र घाटी–मैदान कृषि र पर्यटनका लागि उपयुक्त छन्। तर यी सबै केवल मौन साक्षी बनेर बसिरहेका छन्,मानौं युवाको साहस र सीपको प्रतीक्षामा।

हामी युवामा केवल जोश मात्र छैन, योजना बनाउने क्षमता पनि छ। हाम्रो हृदयमा माटोप्रतिको माया छ, दिमागमा प्रविधि र नवीन सोचको शक्ति छ, र हातमा परिश्रमको शक्ति छ। यी तिनैलाई मिलाएर कर्णालीको भविष्य उज्यालो बनाउन सकिन्छ। तर त्यसका लागि पहिलो कदम हो आफ्नो सोचको सीमा तोड्नु।

कर्णालीका धेरै युवा अझै रोजगारीको खोजीमा परदेश जान बाध्य छन्। विदेशको कमाइले घरमा केही सजिलो ल्याउँछ, तर यसले हाम्रो गाउँ, हाम्रो भूमि, हाम्रो स्रोतलाई बाँझो बनाइरहेको छ। हामीले यो चक्र तोड्नुपर्छ। हाम्रो लक्ष्य हुनुपर्छ आफ्नै माटोमा अवसर सिर्जना गर्ने। आधुनिक कृषि प्रणाली अपनाउने, जडीबुटीको प्रशोधन उद्योग खोल्ने, स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने, र कर्णालीको प्राकृतिक सौन्दर्यलाई पर्यटनको माध्यमबाट विश्वभर चिनाउने।

समृद्धि भनेको केवल पैसाले मात्र नापिने कुरा होइन। यो त हाम्रो पहिचान, संस्कार, र वातावरणको सुरक्षा हो। कर्णालीका गीत, बोली, पोशाक, र पर्व–उत्सव हाम्रो आत्मा हुन्। यी हराए भने, हामी आर्थिक रूपमा धनी भए पनि सांस्कृतिक रूपमा गरिब हुनेछौं। त्यसैले हामीले आधुनिकतासँगै मौलिकतालाई जोगाउने संकल्प गर्नुपर्छ। युवामा अर्को विशेष शक्ति छ एकता। व्यक्तिगत लक्ष्यभन्दा ठूलो हो सामूहिक लक्ष्य। जब गाउँ–गाउँका युवा, शहरका विद्यार्थी, उद्यमी, कलाकार, र सीपयुक्त हातहरू एउटै लक्ष्यमा जोडिन्छन्, तब त्यो लक्ष्य पूरा गर्न कुनै शक्ति रोक्न सक्दैन। एकता र साझेदारीको बाटोमा हामीले राजनीतिक, सामाजिक, र भौगोलिक भिन्नता भुलेर अघि बढ्नुपर्छ। हाम्रो जिम्मेवारी केवल आर्थिक विकासमा सीमित छैन। हामीले शिक्षा र स्वास्थ्यको पहुँच हरेक गाउँसम्म पुर्याउनुपर्छ, समाजमा समानता र न्यायको संस्कार बसाल्नुपर्छ, र भ्रस्टाचार, विभेद, र लापरबाहीको विरुद्ध आवाज उठाउनुपर्छ। नेतृत्व भनेको केवल पदमा बस्नु होइन समाजको लागि उत्तरदायी हुनु हो। कर्णालीको भविष्य अहिले टाढाको सपना होइन, यो त हाम्रो हातमा रहेको वर्तमान हो। हामीले आज के गर्छौं, त्यसैको प्रतिबिम्ब भोलिको कर्णाली हुनेछ। यदि आज हामीले लापरबाही गर्यौं भने भोलि पछुताउनुपर्छ, तर यदि आज हामीले दृढतापूर्वक, योजनाबद्ध, र ईमानदार श्रम गर्यौं भने, भोलिको इतिहासमा हाम्रो पुस्तालाई गौरवका साथ सम्झिनेछ।

कल्पना गर्नुहोस् भोलिको कर्णाली, जहाँ खोलाको पानीबाट बनेको बत्तीले हरेक घर उज्यालो छ, जहाँ कृषि उत्पादनले बजारमा धनी बनाइरहेको छ, जहाँ पर्यटनका कारण गाउँ–गाउँमा नयाँ रोजगारी पैदा भइरहेको छ, जहाँ युवा परदेश होइन, स्वदेशमै सपना साकार गरिरहेका छन्, र जहाँ हरेक बस्तीमा आशाका दियो जलेका छन्। यो केवल कल्पना होइन, सम्भावना हो र यो सम्भावना वास्तविकतामा बदल्ने शक्ति हाम्रो हातमा छ। हामी युवा यो जिम्मेवारीबाट भाग्ने होइन, गर्वका साथ यो बोझ उठाउने पुस्ता हौं।

 हो, युवाको हातमा कर्णालीको भविष्य छ,र हामी त्यो भविष्य उज्यालो बनाउने पुस्ता हौं।

लेखक : जय बहादुर सिंह,जाजरकोट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको