गरिमा विकास बैंक लिमिटेडले आयोजना गरेको ‘गरिमा रोडरेस–०८२’ सकिएको छ । बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित शनिबार ‘गरिमा रोडरेस’ आयोजना गरेको थियो ।
कार्यक्रमको दोस्रो संस्करण खुला, कर्पोरेट र भेट्रान गरी तीन विधामा महिला र पुरुष गरी कुल ६ वटा प्रतियोगिता गराइएको बैंकले जनाएको छ । खुलातर्फको १० किमिको प्रतियोगिता बैंकको प्रस्तावित केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौँडा हुँदै बुढानीलकण्ठ– ३ को कार्यालय पुगी पुनः सोही मार्गबाट बालुवाटार आई समापन भएको थियो । त्यसैगरी, कर्पोरेट तथा भेट्रानतर्फको पाँच किमि दूरीको प्रतियोगिता बालुवाटारबाट नारायणगोपालचोक हुँदै न्युरो अस्पताल, बाँसबारीअगाडि पुगी पुनः सोही स्थान फर्किएको थियो ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान हासिल गर्नेहरूलाई खुलातर्फ क्रमशः ५०, ३५, २०, १५ र १० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ । साथै, कर्पोरेट र भेट्रानतर्फ प्रथम, दोस्रो, तेस्र्रो, चौथो र पाँचौँ स्थान हासिल गर्नेलाई क्रमशः ३०, २०, १४, १० र सात हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा कुल एक हजारभन्दा बढी धावक सहभागी थिए । खुलातर्फ १० किमिको दौडमा ओलम्पियन धावक सन्तोषी श्रेष्ठ र पुरुषतर्फ नेपाल आर्मीका राजन रोकायाले प्रथम स्थान हासिल गरेका थिए । यस प्रतियोगितामा नेपाल आर्मीका धावकहरूले खुला विधामा पुरुषतर्फ सबै र महिलातर्फ चार पुरस्कार जित्न सफल भएको बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस