लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको एलिमिनेटर खेलमा लुम्बिनीले काठमान्डुलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायमा पुगेको हो ।
काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा बिहीबार विराटनगर किंग्ससँग खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग ७७ रनले पराजित भएको थियो । लिग चरणमा तेस्रो भएको काठमान्डु भने एलिमिनेटरमा हारपछि प्रतियोगिताबाट बाहिरिएको छ । लुम्बिनीका लागि ओपनर डार्शी सर्टले ३३ रन बनाए । सन्दीप जोराले २३ रन जोडे । कप्तान रोहित कुमार पौडेलले १८ रन बनाए । विकेटकिपर निरोशन डिकवेलाले१४ रन बनाए ।
काठमान्डुका सन्तोष यादवले २ तथा कप्तान करण केसी, सन्नी पटेल, शाहब आलम र रासिद खानले १–१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भएको थियो । काठमान्डुका लागि आठौं नम्बरमा ब्याटिङ गरेका सन्तोष यादवले सर्वाधिक २३ रन बनाए भने जोन सिम्पसन र आदिल आलमले समान १८ रन बनाए । भीम शार्कीले १४ रन बनाए । लुम्बिनीका लागि शेर मल्ल र कप्तान रोहित पौडेलले ३–३ विकेट लिए । यस्तै रुबेन ट्रम्पलम्यानले ३.१ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । अभिशेष गौतमले समान १ विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस