लुम्बिनी लायन्स पहिलोपटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो ।
लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा अलआउट भयो । विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ३४ रन बनाए । नरेन भट्टले २१ र मर्चेन्ट डे लाङले १७ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लुम्बिनीका लागि तिलक भण्डारीले ३ विकेट लिए । रुबेन ट्रम्पलम्यानले, अभिशेष गौतम र जेजे स्मिथले समान २/२ विकेट लिए । शेर मल्लले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । लुम्बिनीका लागि ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाए । कप्तान रोहित पौडेलले ३४ रन योगदान दिए । त्यस्तै विकेटकिपर निरोशन डिकवेलाले २९ रन जोडे । विराटनगरका लागि प्रतिश जिसी र सुभाष भण्डारीले ३/३ विकेट लिए । सन्दीप लामिछानेले पनि २ विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस