Like us!
Follow us!
Connect us!
Watch us!

लोकतन्त्रको असल अभ्यास नै निर्वाचन हो : गृहमन्त्री अर्याल

अर्थ संसार

बुधबार, ०९ पुस २०८२, १३ : ३७ मा प्रकाशित

लोकतन्त्रको असल अभ्यास नै निर्वाचन हो : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास र अपरिहार्य व्यवस्था भएकाले निर्वाचनले नै नागरिक शक्तिलाई सरकारमा पुर्‍याई शासनको वैधानिकता प्रदान गर्ने मूल प्रणाली रहेको बताएका हुन् । बुधबार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त रूपमा आयोजना गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सो कुरा बताएका हुन् । 

निर्वाचनबिना सुशासन कायम गर्न कठिन हुने र देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन,’ उनले भने । भर्खरै भएको जेनजी जन–आन्दोलनले गर्दै अहिलेका युवा पुस्तालाई यसले युवाहरुको राजनीतिमा मूल प्रवाहीकरण गरेको र अब पनि उनीहरुलाई ब्याइपास गरेर जान नसकिने धारणा मन्त्री अर्यालले भने । आवधिक निर्वाचन नै सुशासनको आधार भएको र ताजा जनादेश प्राप्त सरकारले सुशासन कायम गर्नमा सशक्त भएर काम गर्न सक्छ भन्ने तथ्यलाई भुल्न नहुने मन्त्री अर्यालले बताए । मन्त्री अर्यालले सुशासन दिन सकिएन भने विद्रोहको अवस्था सिर्जना हुने रहेछ भनेर अब पनि द्वन्द्वको अवस्था सिर्जना हुन नदिन हामीले नयाँ पुस्ता र उनीहरुका जायज माग सम्बोधन बेलैमा गरिनुपर्नेमा जोड दिए । नव पुस्तालाई केही राजनीतिक दलहरुले हाल आएर राजनीतिको प्रमुख पदहरुमा आवद्ध गराउनु भएको देख्दा सरकारलाई खुसी लागेको समेत मन्त्री अर्यालले बताए ।   

उनका अनुसार निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल म्यान्डेटका साथ गठन भएको यस नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको छ । निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको विचारसमेत उनले दोहो¥याए । यस्तै, यही पुस ७ गते प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय छलफलबाट आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा तोकिएकै मितिमा सम्पन्न गर्ने गरी साझा प्रतिबद्धता जाहेर भएको ब्यहोरा समेत मन्त्री अर्यालले कार्यक्रममा स्मरण गराए । 

कर्णाली प्रदेश भौगोलिक रूपमा विकट, संवेदनशील र रणनीतिक महत्त्व बोकेको क्षेत्र भएको र यस आजको सुरक्षा गोष्ठीमा कर्णाली प्रदेशको सुरक्षा चुनौती विश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि गरिएका र अझ गर्नुपर्ने तयारीबारे खुलेर छलफल गरी निष्कर्षमा पुग्ने विश्वाससमेत मन्त्री अर्यालले व्यक्त गरे । यस्तै, कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री यामलाल केडेलले प्रदेश सरकार आगामी निर्वाचनका लागि संघीय सरकारलाई साथ सहयोग गर्न तत्पर रहे पनि अहिले नै निर्वाचनको वातारण बनि नसकेको अवगत गराए । राजनीतिक दल र दलीय व्यवस्थालाई नजर अन्दाज गर्दै जाने हो र सौहार्द राजनीतिक वातावरण प्रदेशमा नबनाउने हो भने आगामी निर्वाचन गर्न चुनौती हुने उनको धारणा थियो ।  

यस्तै, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका सहसचिव आनन्द काफ्लेले स्वागत मन्तव्यसहित गोष्ठीको उद्देश्य तथा कार्यक्रममाथि प्रकाश पारे । गोष्ठीको दोस्रो सत्रमा प्रदेशका १० वटै जिल्लाबाट जिल्ला सुरक्षा समितिका पदाधिकारीले विशेषतः प्रदेशगत सुरक्षा चुनौतीका सम्बन्धमा घनीभूत छलफल गर्दै जिल्लागत प्रस्तुतीकरण हुने कार्यक्रम छ । यस प्रदेश अन्तर्गत हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत पर्दछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको