उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ गतेको निर्वाचनलाई नयाँ शक्ति उदयको प्रस्थानबिन्दु बनाउनुपर्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको कार्यलय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले फागुन २१ को चुनावलाई चुनावको रुपमा मात्रै लिन नहुनेमा बताए । जेनजी आन्दोलनबाट स्थापित भएको सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने उल्लेख गर्दै उनले देशमा चुनावको माहोल बनिरहेको पनि दाबी गरे । उनले नयाँ सबै शक्तिहरु एकजुट भएर नेपालको समृद्धि, सुशासन, देशभित्रै रोजगारी सिर्जना, सामाजिक न्यायको स्थापनाको लागि अगाडी बढ्नुपर्ने बताए । जेनजी आन्दोलनको स्प्रिड पनि यही रहेको उनको भनाई छ । उनले चुनावबाट फेरि पुरानै शक्तिहरुको उदय भएमा ठूलो दुभाग्य हुने बताए । उनले नयाँ राजनीतिक दल, समूह र व्यक्तिहरु एकतावद्ध भएर लाग्नुपर्ने आजको आवश्यकता भएको बताए । सम्पूर्ण नेपालीहरुको चाहनाअनुसार नयाँ शक्तिहरु एकठाउँमा आउने गरी प्रयासहरु भइरहेको उनले जानकारी दिए ।
उनले भने, ‘अहिले देशमा चुनावको माहोल बढिरहेको छ । जेनजी आन्दोलनबाट जुन सरकार स्थापित भएको छ । आजको परिस्थिति जुन हिसाबले बनेको छ, यो सरकारले फागुन २१ मा चुनाव गर्ने हो । फागुन २१ को चुनावलाई चुनावको रुपमा मात्रै होइन, नयाँ शक्तिहरुको उदयको प्रस्थानबिन्दु पनि हुनुपर्छ भन्ने हामी सबैले कामना गर्नुपर्छ । यसतर्फ हामी अगाडी बढ्नुपर्छ । सबै देशभित्र र बाहिर भएका सम्पूर्ण नेपालीहरुले अब एकतावद्ध भएर नयाँशक्ति, नयाँ नेतृत्वहरुको एउटा समूह, टिम अगाडी बढ्नुपर्छ । युवापुस्ता नेपालको समृद्धिको लागि, सुशासनको लागी अगाडि बढ्नुपर्छ । जेनजी आन्दोलनको स्प्रिड पनि यही थियो । देशमा सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने, देशको समृद्धिको लागी अगाडी बढ्ने जुन स्प्रिडमा जेनजी आन्दोलन भयो । यसको रिजल्ट यदी राम्रो आएन, फेरि पनि त्यही स्थितिमा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य केही पनि हुँदैन । अब आगामी दिन यो देशलाई माथि लान, देशलाई समृद्धतर्फ अघि बढाउन अब नयाँ पुस्ता, युवा पुस्ता र नयाँ शक्तिहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । त्यसैले यसतर्फ हामी सम्पूर्ण नयाँ शक्तिहरु, नयाँ व्यक्तित्वहरु जसले यो देशमा केही गरौँ भनेर डेलिभरी दिइरहेको छ, केही गरौँ भनेर लागिराख्नुभएको छ । यी तमाम व्यक्तित्वहरु, समुहहरु, पार्टीहरु एकतावद्ध हुनु आजको आवश्यकता हो र नयाँ नेतृत्वहरु स्थापित गर्दै अगाडि बढ्नुपर्छ ।’
उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका उनले स्थापनाको छोटो समयमा नै पार्टीले देशभर तरङ्ग ल्याएको पनि दाबी गरे । उनले नयाँ शक्तिलाई एकजुट गराउने नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने विश्वास व्यक्त गरे । उनले पार्टीको कार्यलयसँगै देशको समृद्धि, सुशासन र सामाजिक न्यायको अगाडीको बाटो पनि उद्घाटन भएको दाबी गरे । भ्रष्टाचारमुक्त, सुशासित, समृद्ध, आत्मनिर्भर अर्थतन्त्र भएको देश निर्माण गर्न तथा रोजगारी र सामाजिक न्यायको पक्षमा यो पार्टी लाग्ने उल्लेख गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस