सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’मा मागभन्दा बढी आवेदन परेको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी यही पुस ४ गतेदेखि १८ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिएको १ अर्ब रुपैयाँ आकारको यस योजनामा प्रारम्भिक विवरणअनुसार सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट १ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ । यो माग तोकिएको रकमभन्दा करिब २५ प्रतिशत बढी हो ।
सिटिजन्स क्यापिटल लिमिटेडका अनुसार यो योजना बढी आवेदन प्राप्त गर्ने म्युचुअल फण्ड योजनामध्ये एक बन्न सफल भएको छ । योजनाप्रति देखिएको लगानीकर्ताको आकर्षण र उल्लेखनीय सहभागिताले सिटिजन्स क्यापिटललाई नेपालको पूँजी बजारमा दक्ष, व्यवसायिक र विश्वसनीय संस्थाका रूपमा स्थापित गराएको प्रतिबिम्बित हुने कम्पनीको भनाइ छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ । कम्पनीका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन् ।
कम्पनीले योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार सेवा र संस्थागत परामर्श सेवासहित पूँजी बजारसम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको जनाएको छ ।
आगामी दिनमा पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधिमैत्री तथा लगानीमैत्री सेवामार्फत लगानीकर्तालाई विश्वसनीय र प्रतिस्पर्धी सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता रहेको छ । साथै, निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोष सञ्चालन गर्ने र हाल सञ्चालनमा रहेका योजनाबाट उच्च प्रतिफल दिलाउने लक्ष्यसहित काम गरिरहेको कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस