कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा पाँच वर्षसम्म पनि एउटा कानुन बनाउन नसक्नेहरूलाई भोट नदिन आग्रह गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनताप्रति उत्तरदायी र जिम्मेवारीबोध भएका जनप्रतिनिधि चयन गर्न आग्रह गरेका हुन् ।
‘एउटा कानुन बनाउन ५ वर्ष लगाउने, त्यसको प्रत्यायोजित विधायन बनाउनको निम्ति अर्को ५ वर्ष लगाउने जनप्रतिनिधिहरू, यस्ता प्रतिनिधिहरूलाई तपाई फेरि भोट खसाल्न जानुहुन्छ भने तपाईहरूको हात काम्नुपर्छ’ उनले भने, ‘चुनावमा अब कमसेकम यो सचेना भएको र तपाईंहरूलाई डेलिभर गर्नसक्ने र जनतासँग पुग्नसक्ने जनप्रतिनिधिहरूलाई चुन्नुस्, यो मौका अब तपाईहरूलाई आएको छ ।’
उनका अनुसार जेन–जी आन्दोलनले योग्य जनप्रतिनिधि छनोट गर्ने अवसर प्रदान गरेको छ।
‘जेनजी आन्दोलनले यो मौका दिएको छ । समयमा चुनाव गर्नुपर्छ, सरकार निर्वाचन गर्न प्रतिबद्ध छ,’ उनले भने, ‘अबको समय भनेको ५ जनाले ताली बजाउ भन्नासाथै ताली बजाएर कानुन पारित गर्ने व्यक्तिलाई चुनेर पठाउनुभयो भने १० वर्ष पछि हामीले कुरा गर्दाखेरी यही ठाउँमा फर्केर आइराखेका हुन्छौँ ।’
मन्त्री सिन्हाले आवश्यकताका आधारमा कानुन निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। साथै, आपसमा बाझिने खालका कानुन बनाउन नहुने उनको भनाइ थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस