Like us!
Follow us!
Connect us!
Watch us!

'पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिसाउँदा वार्षिक ६ अर्ब बचाउन सकिन्छ '

अर्थ संसार

आइतबार, १० फागुन २०८२, १४ : २६ मा प्रकाशित

'पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिसाउँदा वार्षिक ६ अर्ब बचाउन सकिन्छ '

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिसाउँदा नेपालले वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम आयात घटाउन सक्ने बताएका छन्।

आइतबार नेपाल आर्थिक पत्रकार समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पेट्रोलमा इथानोल मिश्रण गर्ने निर्णय लामो अध्ययन र व्यापक छलफलपछि कार्यान्वयनको चरणमा पुगेको जानकारी दिए। उनका अनुसार यसले पेट्रोलियम आयातमा उल्लेख्य कमी ल्याउने र व्यापार घाटा घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

इथानोल मिश्रणसम्बन्धी अध्ययन विगत दुई दशकदेखि जारी रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले पेट्रोलमा इथानोल मिसाउने आदेश २०८२ स्वीकृत भइसकेको र राजपत्रमा प्रकाशन भएपछि नीति कार्यान्वयनमा जाने बताए।

उनले पेट्रोलमा इथानोल मिश्रणलाई स्वच्छ ऊर्जातर्फको महत्त्वपूर्ण पहलका रूपमा पनि व्याख्या गरे।

‘पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा पनि नेपालमा वार्षिक १३ करोड पेट्रोलको आयात घटाउन सकिने रहेछ । यसबाट वार्षिक झन्डै ६ अर्ब बराबरको विदेशी मुद्रा बचत हुने रहेछ । नेपालमा पसिनाले कमाएको पैसा बच्नेछ,’ उनले भने ।

मन्त्री सिन्हाले इथानोल उत्पादनका लागि उखुजस्ता कृषि उत्पादन बढ्ने, कृषि भूमिको उपयोग विस्तार हुने तथा आन्तरिक अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नयाँ उद्योग स्थापना, औद्योगिक वातावरण, सुरक्षा, रोजगारी, कच्चापदार्थ उत्पादनलगायत क्षेत्रमा चुनौती भने रहेको उनले स्वीकार गरे । मन्त्री सिन्हाले यस क्षेत्रमा विदेशी लगानी आउने सम्भावना रहेको उल्लेख गर्दै प्रतिस्पर्धा आवश्यक भए पनि अस्वस्थ प्रतिष्पर्धा हुन नहुनेमा जोड दिए । इथानोललाई प्रतिस्पर्धी बनाउन पेट्रोलभन्दा इथानोलको मूल्य कम हुनुपर्ने र त्यसका लागि कार्यविधि चाँडै आउने उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको