अर्थ संसार
काठमाडौं– सेयर बजार साताको अन्तिम दिन विहीबार पनि सुस्त देखियो । बजार घट्नेक्रम यस दिन पनि निरंतर रह्यो । कारोबार रकम पनि खासै बढ्न सकेन । लगानीकर्ताहरु ‘पर्ख र हेर’ कै अवस्थामा देखिए । नेप्से बुधबार ९.२२ अंकले घटेर १५४४.६८ अंकमा समेटिएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा १० करोड जतिले बढेर ६० करोड २५ लाख पुगेको छ । बुधबार नेप्सेमा साताकै न्युन रकमको कारोबार भएको थियो ।
यस दिन १ सय ३४ कम्पनीको ४ हजार ५ सय १ कारोबारबाट ६ ७ लाख ३ हजार १ सय ६४ कित्ता सेयर किनबेच भएको छ । बुधबारको कारोबारमा वित्त समुहमात्रै हरियो भयो । वित्त समुह ०.७ अंकले हरियो देखियो । अरु सबै समुह राताम्य भएका छन ।
यस दिन बैंकिङ ९.३२, होटल २.५८, विकास बैंक ५.२३, जलविद्युत २६.७५, वीमा ४५.१७ र अन्य समुह ६.९४ अंकले घटेका छन् । धितोपत्र बोर्डले अनुगमन गर्ने निकाय नभएका जलविद्युत कम्पनीलाई हकप्रद र फर्दर पब्लिक अफरिङ जारी गर्न बुधबार केही सर्तहरु जारी गरेको असर जलविद्युत समुहको सेयरमा देखियो ।
यसदिन पनि बुधबार जस्तै शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै रकमको कारोबार भयो । शिखरको १६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शिखरको शुक्रबार बुक क्लोज हुने भएकाले कम्पनीले दिने उच्च मुनाफा बुक गर्न लगानीकर्ताले यस कम्पनीमा लगानी गरे । यसपछि एभरेष्ट बैंक, छिमेक लघुवित्त विकास बैंक र सिद्धार्थ बैंकको उच्च कारोबार भएको छ ।
घटेको बजारमा बुधबार जस्तै आज पनि एनबी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ८ प्रतिशतले बढेको छ । त्यस्तै पोखरा फाइनान्स र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले पनि राम्रो कमाइ गरेका छन् ।
बजारमा अरण फाइनान्स, अपी पावर लिमिटेड, विजय लघुवित्त, नागबेली लघुवित्त र समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस