दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आइतबारदेखि (असार ९ गते) आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका श्रमिक नेपालीहरूलाई साधारण सेयर निष्कासन गरी आवेदन खुला गरेको छ।
कम्पनीले गुल्मी जिल्लाको मुसिकोट नगरपालिका तथा बागलुङ जिल्लाको गल्कोट नगरपालिका र बडीगाड गाउँपालिकाका बासिन्दाहरूलाई लक्षित गरी कुल १० लाख ३० हजार ५ सय कित्ता सेयर निष्कासन गरेको हो। यस समूहका आवेदकहरूले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदनको अन्तिम म्याद छिटोमा असार २३ गतेसम्म रहेको छ भने माग अनुसार आवेदन नपरेमा साउन ६ गतेसम्म समय थप हुनेछ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेर वैधानिक श्रम स्वीकृति लिएका नेपालीहरूका लागि कम्पनीले २ लाख ९१ हजार ९ सय ५० कित्ता सेयर निष्कासन गरेको छ। यस समूहमा पनि न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक श्रमिक समूहका लागि आवेदन म्याद असार २३ गतेसम्म तोकिएको छ।
सार्वजनिक समूह (सर्वसाधारण) का लागि भने कम्पनीले आगामी चरणमा २४ लाख २३ हजार १ सय ८५ कित्ता सेयर निष्कासन गर्ने योजना बनाएको छ।
दरमखोला हाइड्रोले हाल बागलुङ जिल्लाको गल्कोट नगरपालिका–११ मा अवस्थित ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको काम अगाडि बढाइरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस