Like us!
Follow us!
Connect us!
Watch us!

सोलु हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै, सर्वसाधारणका लागि ८२ लाख कित्ता सेयर निष्कासन

अर्थ संसार

आइतबार, ०४ माघ २०८२, ०८ : ०४ मा प्रकाशित

सोलु हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै, सर्वसाधारणका लागि ८२ लाख कित्ता सेयर निष्कासन

सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि जारी गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने समय आज माघ ४ गतेसँगै समाप्त हुँदैछ। पुस २९ गतेदेखि खुला गरिएको यो आईपीओमा आजसम्म आवेदन नदिने लगानीकर्ताले अन्तिम अवसर गुमाउनेछन्।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। उक्त चरण सम्पन्न भएपछि अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिएको हो।

सोलु हाइड्रोपावरले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत बराबरको सेयर निष्कासन गर्न अनुमति पाएको थियो। सोअनुसार कुल २ करोड कित्ता साधारण सेयरमध्ये १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई र १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण भइसकेको छ।

दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरूका लागि ३ लाख कित्ता सेयर सुरक्षित गरी बाँकी ८२ लाख कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो। यसको कुल मूल्य ८२ करोड रुपैयाँ बराबर रहेको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीको सेयर निष्कासनअघि गरिएको क्रेडिट मूल्याङ्कनमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सोलु हाइड्रोपावरलाई आइआरएन डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सोलुखुम्बु जिल्लामा निर्माण गरिरहेको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजनाको अनुमानित लागत १६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत झण्डै १९ करोड ८८ लाख रुपैयाँ आँकलन गरिएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २५ वर्ष बाँकी छ।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै सि–आसबाँ सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको