होटल फरेष्ट इन लिमिटेडले आज माघ ४ गतेदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को पहिलो चरण सुरु गरेको छ। यस चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी सेयर निष्कासन गरेको हो।
नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार होटल फरेष्ट इनले १०० रुपैयाँ अंकित मूल्यका कुल ४० लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ, जसको कुल मूल्य ४० करोड रुपैयाँ बराबर हुन्छ। सोमध्ये १० प्रतिशत अर्थात ४ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।
विदेशमा रोजगारी गरिरहेका नेपाली लगानीकर्ताले यस आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत दिन सकिनेछ।
कम्पनीका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुलाइएको यो आइपीओ छिटोमा माघ ८ गते बन्द हुनेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ १८ गतेसम्म खुला रहनेछ। आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एसिया क्यापिटल लिमिटेडले सम्हालेको छ।
पहिलो चरणको निष्कासन सम्पन्न भएपछि होटल फरेष्ट इनले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ बिक्री प्रक्रिया अघि बढाउने जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस