Like us!
Follow us!
Connect us!
Watch us!

आज नेप्से बन्द, सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, ०८ : १४ मा प्रकाशित

आज नेप्से बन्द, सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा

आज माघ ५ गते सोमबार सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा परेकाले नेपाली सेयर बजार बन्द रहने भएको छ। बिदाका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गतको दोस्रो बजारमा आज कुनै पनि कारोबार नहुनेछ।

सेयर बजारसँगै आज बैंक तथा वित्तीय संस्थाहरू पनि बन्द छन्। त्यसैले सेयर कारोबार, बैंकिङ सेवा तथा कर्जा–निक्षेपसम्बन्धी गतिविधि आज बन्द रहने भएको छ। अब नेप्सेमा नियमित कारोबार भोलि पुनः सुरु हुनेछ।

गत साता समेत सार्वजनिक बिदा र अन्य कारणले बजार सीमित दिन मात्र खुलेको थियो। अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक ३१.१२ अंकले उकालो लाग्दै २६७२.५५ विन्दुमा पुगेको थियो। सो दिन बजारमा करिब साढे ८ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो, जसले लगानीकर्ताको सक्रियता देखाएको थियो।

यसैबीच, तामाङ समुदायले आज सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। मञ्जुश्री पात्रोअनुसार आजबाट २८६२ औँ वर्ष प्रारम्भ भएको छ। सर्प वर्ष समाप्त भई घोडा वर्ष प्रवेश भएको हो।

सोनाम ल्होसार १२ वर्षे चक्रमा आधारित पर्व हो, जसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर वर्ष पर्दछन्। अनुसन्धानकर्ता टीका शेर्पाका अनुसार पशुपन्छीको नाममा वर्ष गणना गरिनु तामाङ समुदायको प्रकृतिपूजक संस्कृतिसँग जोडिएको छ।

तामाङ जातिको बाक्लो बसोबास रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ। ल्होसारको अवसरमा बौद्धनाथ क्षेत्रमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने नेपाल तामाङ घेदुङको आयोजनामा टुँडिखेलमा तीनदिने विशेष कार्यक्रम सञ्चालन भइरहेको छ। यसका साथै स्वयम्भू क्षेत्रमा पनि विविध धार्मिक तथा सांस्कृतिक गतिविधि आयोजना गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको