वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (मंसिरसम्म) कर्मचारीको तलबभत्तामा करिब २५ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले मंसिरसम्म कुल २५ अर्ब ४ करोड १५ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूले २३ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ खर्च गरेका थिए। यस आधारमा चालु आर्थिक वर्षमा कर्मचारी खर्च ६.८२ प्रतिशतले वृद्धि भएको देखिन्छ।
समीक्षा अवधिमा कर्मचारीको तलबभत्तामा सबैभन्दा धेरै खर्च गर्ने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ। चालु आर्थिक वर्षको मंसिरसम्म उक्त बैंकले १ अर्ब ९७ करोड ८९ लाख रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ८४ करोड १६ लाख रुपैयाँको तुलनामा ७.४५ प्रतिशतले बढी हो।
कर्मचारी खर्चमा दोस्रो स्थानमा नबिल बैंक रहेको छ। नबिल बैंकले मंसिरसम्म १ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खर्च १ अर्ब ६० करोड २० लाख रुपैयाँ थियो, जसअनुसार बैंकको खर्च ९.१६ प्रतिशतले बढेको छ। तेस्रो धेरै खर्च गर्ने बैंक ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष मंसिरसम्म १ अर्ब ५४ करोड २९ लाख रुपैयाँ खर्च गरेको यस बैंकको कर्मचारी खर्च समीक्षा अवधिमा ११.३२ प्रतिशतले वृद्धि भई १ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
कर्मचारीको तलबभत्तामा खर्च वृद्धिदरका आधारमा एनएमबि बैंक अग्रस्थानमा रहेको छ। अघिल्लो वर्ष ९२ करोड ३९ लाख रुपैयाँ खर्च गरेको एनएमबि बैंकले चालु वर्षको मंसिरसम्म उक्त खर्च बढाएर १ अर्ब ३० करोड ८४ लाख रुपैयाँ पुर्याएको छ, जसले ४१.६३ प्रतिशतको उल्लेखनीय वृद्धि देखाउँछ।समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्तामा सबैभन्दा कम खर्च गर्ने बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। बैंकले मंसिरसम्म ४१ करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ४५ करोड ७६ लाख रुपैयाँ खर्च गरेको यस बैंकको कर्मचारी खर्च ९.२३ प्रतिशतले घटेको छ।
कुन बैंकको खर्च कति?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस