नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सुधारका लागि अहिले उपयुक्त समय आएको बताएका छन्। विगतमा दलीय खिचातानीका कारण समयमा नीतिगत निर्णय हुन नसकेको उल्लेख गर्दै उनले वर्तमान सरकारले सुधारका काम सहज रूपमा अघि बढाउन सक्ने धारणा व्यक्त गरे।
सोमबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले विगतमा मन्त्रीहरूलाई विषयगत जानकारीको अभाव हुँदा नीतिगत निर्णयमा अन्योल उत्पन्न हुने गरेको बताए। हाल अर्थ मन्त्रालयको नेतृत्व विज्ञ अर्थमन्त्रीले गरिरहेकाले नीतिगत सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्न उनले आग्रह गरे।
उनले भने, ‘पोलिसिहरु सुधारका लागि यो एकदमै राइट टाइम हो । कतिपय विषयमा मन्त्री नै गर्न खोजेको के भन्नेमै जानकारी नहुने गरेको छ। तालमेल नमिलेर कतिपय गर्नैपर्ने कामहरु नहुने गरेको थियो । अहिले अर्थमन्त्रीको नेतृत्वमा जुन कामहरु भइरहेको छ, त्यो धेरै राम्रो छ ।’
अध्यक्ष ढकालले भन्सारबाट प्राप्त हुने राजस्वलाई सरकारले प्राथमिकतामा राख्दा उद्यमशीलताको विकासमा असर नपर्ने गरी नीति अघि बढाउनुपर्ने बताए। उद्यमशीलता प्रवर्द्धन गर्ने खालका नीतिहरु तत्काल ल्याउनुपर्ने आवश्यकता उनले औंल्याए। साथै, सरकारले होटल तथा पर्यटन क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिए पनि उद्योगले पाउने सुविधा ती क्षेत्रले नपाएकोप्रति उनले गुनासो गरे।
यी व्यवस्थाहरु तुरुन्त कार्यान्वयन गर्न सके उद्यमशीलताको उल्लेखनीय विकास हुने उनको भनाइ छ। साथै, अध्यक्ष ढकालले कतिपय विषयलाई लिएर धितोपत्र बोर्डले इस्यु बनाइरहेको भन्दै त्यसतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस