Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा व्यवसायीले कमाएको देख्न नसक्ने प्रवृत्ति अन्त्य हुनुपर्छ - अध्यक्ष ढकाल

अर्थ संसार

आइतबार, ०९ कार्तिक २०८२, ०९ : ४५ मा प्रकाशित

नेपालमा व्यवसायीले कमाएको देख्न नसक्ने प्रवृत्ति अन्त्य हुनुपर्छ - अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यवसायीले कमाएको देख्न नसक्ने नकारात्मक सोच अन्त्य हुनुपर्ने बताएका छन्।

अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रलाई हतोत्साहित गर्ने प्रवृत्तिले देशको आर्थिक विकासमा प्रत्यक्ष असर पार्ने चेतावनी दिए। 

उनले भने, ‘निजी क्षेत्र देशको अर्थतन्त्रको ८१ प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारी दिने क्षेत्र हो। यस्तो क्षेत्रमा आक्रमण हुनु वा बदनाम गर्ने प्रयास हुनु अत्यन्तै गलत सन्देश हो।’

नेपालमा व्यवसायी र लगानीकर्ताप्रतिको नकारात्मक मानसिकता गहिरिँदै गएको बताउँदै उनले भने, ‘सामाजिक सञ्जाल र सार्वजनिक धारणा दुवैमा व्यवसायी भनेका नाफा मात्रै कमाउने हुन् भन्ने गलत सोच बसालिएको छ। यो मानसिकता परिवर्तन नगरेसम्म आर्थिक रूपान्तरण असम्भव छ।’

ढकालका अनुसार नेपालमा अझै थुप्रै क्षेत्रमा लगानी र नवप्रवर्तनका सम्भावना छन्। उनले भने, ‘नेपालमा सम्भावना नै छैन भन्ने कुरा गलत हो। हामीले धेरै क्षेत्र अझै एक्स्प्लोर गरेका छैनौं। जतिधेरै खोज्यौं, त्यतिधेरै अवसर भेटिन्छ।’

नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले र निजी क्षेत्रले सँगसँगै काम गरिरहेको उनले बताए। ‘नेपाल उद्योग वाणिज्य महासंघको पहलमा ३० भन्दा बढी कानून संशोधन भएका छन्। लगानीको वातावरण सुधार्न उच्चस्तरीय आयोगका सिफारिस पनि कार्यान्वयन भइरहेका छन्,’ उनले भने।

उनले हालै स्वदेशी व्यवसायी र गैरआवासीय नेपालीको संयुक्त लगानीमा १० अर्ब रुपैयाँ पूँजीसहित नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) स्थापना गरेर काम सुरु गरिएको बताए। वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न महासंघले एफडीआई हेल्प डेस्क स्थापना गरेको उनले जानकारी दिए।

उनले अमेरिकामा रहेका नेपाली लगानीकर्ताहरूसँग नेपालमै लगानी गर्न आग्रह गर्दै भने, ‘नेपालमा लगानीका लागि राम्रो अवसर र वातावरण दुवै छन्। यसलाई उपयोग गर्न अब हामी सबैले सकारात्मक सोचसहित अघि बढ्नुपर्छ।’

अध्यक्ष ढकालले देशभित्र व्यवसायीको सफलता र कमाइलाई गलत दृष्टिले हेर्ने प्रवृत्तिलाई अन्त्य गर्न आग्रह गर्दै भने, ‘व्यवसायीले कमाउँदा देशले पनि कमाउँछ। त्यसैले विकासका लागि लगानी र व्यवसायप्रति सम्मानजनक दृष्टिकोण आवश्यक छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको