नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालैको जेन–जेड प्रदर्शनका क्रममा उद्योग–व्यवसायमा भएको तोडफोड र आगजनीले ठूलो पीडा दिएको बताउँदै व्यवसायीहरूलाई निराश नहुन आह्वान गरेका छन्।
ढकालले शनिबार सामाजिक सञ्जालमार्फत एक लामो सन्देश जारी गर्दै आफैं उद्योगमा अर्बौँको क्षति भएको स्वीकृति दिएका छन्। तर, व्यक्तिगत पीडा भन्दा पनि उद्योग–व्यवसायसँग प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी जोडिएका हजारौँ नेपालीको भविष्यप्रति चिन्ता व्यक्त गर्दै उनले “निराश भएर बस्ने सुविधा हामीसँग छैन” भनेका छन्।
उनले आफ्नो उद्यमशील यात्राको प्रारम्भिक दिन सम्झिँदै, ठूलो पुँजी नभए पनि इमान्दारिता, निरन्तरता र मेहनतकै आधारमा व्यवसाय सुरु गरेको उल्लेख गरेका छन्। त्यसैको परिणाम स्वरुप आज निजी क्षेत्रमा लाखौँ रोजगारी सिर्जना गर्न सफल भएको स्मरण गर्दै ढकालले उद्योगले स्थानीय अपनत्व, साझेदारी र सेवाको संस्कृति निर्माण गर्न योगदान दिएको बताएका छन्।
ढकालले मुलुकमा भूकम्प, नाकाबन्दी, द्वन्द्वदेखि कोरोना महामारीसम्मका कठोर संकटका बेला पनि उद्योगी–व्यवसायी उठेर अघि बढेको स्मरण गर्दै यो पटक पनि त्यही आत्मबललाई जगाउनुपर्नेमा जोड दिएका छन्। “यी हरेक दु:खमा म आफैँ पनि घाइते छु तर व्यावसायिक नेतृत्वमा रहेकाले साथीहरुलाई मलम लगाएर उठ्न हौसला दिइरहेको छु,” उनको भनाइ छ।
अध्यक्ष ढकालले उद्योगमा भएको क्षतिको तस्बिर वा भिडियो सार्वजनिक नगर्न कर्मचारीलाई निर्देशन दिएको बताए। यसले विदेशी र स्वदेशी लगानीकर्तामा नकारात्मक सन्देश पुग्ने उनको तर्क छ। तर, सामाजिक सञ्जालमा दृश्य सार्वजनिक भएपछि आम व्यवसायीको मनोबल बढाउन आफूले सन्देश दिन बाध्य भएको स्पष्ट पारे।
उनले उद्यमशीलता भनेको केवल नाफामुखी व्यवसाय नभई मुलुककै आर्थिक मेरुदण्ड भएको तथ्य नयाँ पुस्तालाई बुझाउनुपर्ने आवश्यकता औँल्याए। निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी रहेको स्मरण गराउँदै उनले भने, “निजी क्षेत्र बिना समृद्ध नेपाल सम्भव छैन।”
ढकालले भर्खरै लगानी धरापमा परेका उद्योगीलाई समेत नआत्तिन आग्रह गर्दै, “आजैदेखि पुनर्निर्माणमा लागौँ, नयाँ लगानी गरौँ, रोजगारी सिर्जना गरौँ र चुनौतीलाई अवसरमा बदलौँ” भन्ने सन्देश दिएका छन्।
उनले आफ्नो सन्देश भावुक तर दृढ निष्कर्षमा टुंग्याउँदै भनेका छन्, “भौतिक सम्पत्ति खरानी भएको देख्दा पीडा हुन्छ। तर आगोले केवल इँटा र काठ जलाउँछ, हाम्रो आत्मबल, संघर्ष गर्ने हिम्मत र मेहनत गर्ने क्षमता कहिल्यै जल्दैन।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस