नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सिंगो देशलाई एकतामा बाँध्ने उद्देश्यसहित आफू मधेस यात्रा गर्न लागेको बताएका छन्। उनले मंगलबार जारी गरेको भिडियो सन्देशमार्फत काठमाडौंका कथा सुनाउन मधेस झर्ने तयारी गरेको जानकारी दिएका हुन्।
उनले भने,'देश जोड्न म मधेस जाँदैछु। काठमाडौंको कथा मधेसलाई र मधेसका कथा काठमाडौंलाई सुनाउन चाहन्छु। मधेससँगको सम्बन्ध प्रगाढ बनाउन चाहन्छु। सिंगो देशको हुनलाई मधेस झरेको हुँ। मधेसको माटोलाई ढोग्न चाहन्छु। त्यहाँका नागरिकका समस्यासँग जुझ्न चाहन्छु।'
उनले आफू पहाडको मान्छे भए पनि काठमाडौंमा हुर्किएर बढेको बताएका छन्। भावी प्रधानमन्त्रीका रूपमा उभिएका सभापति थापाले मधेसका पीडालाई पनि सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले काठमाडौं क्षेत्र नं ४ का मतदाताप्रति आभार प्रकट गर्दै भने,'काठमाडौँ क्षेत्र नं. ४ को माया र भरोसाकै बलमा यहाँसम्म आइपुगेको छु। यस क्षेत्रबाट पाएको अपार साथ र स्नेहप्रति सधैं ऋणी रहनेछु। तपाईंहरूको शुभेच्छा लिएर सर्लाहीको यात्रा आजबाट सुरु गर्दै छु।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस