नेपाली कांग्रेसका सभापति गगन थापाले सकेसम्म धेरै समय आफ्नै निर्वाचन क्षेत्रमा बिताउने बताएका छन् । सर्लाही पुगेका थापाले मतदातासँग संवाद गर्दै अन्य नेताहरूजस्तै हतारमा आएर हात हल्लाउँदै फोटो खिचेर मात्र नफर्किने बताएका हुन् ।
उनले भने, ‘म यहाँबाट होइन, अरू निर्वाचन क्षेत्रहरू जान्छु, पार्टीको जिम्मेवारीमा छु । त्यसपछि फेरि आउँछु, सम्भव भएसम्म बढीभन्दा बढी दिन यहाँ बस्छु । जति सक्छु त्यति ठाउँमा पुग्छु, गाउँमा पुग्छु । तर, म के चाहिँ गर्दिनँ यतिखेर भने, चुनावको बेलामा अहिले आएर हतार हतार गरेर सबै कुरा आएर ढाकछोप गरेर सबै कुरा गर्ने, अनि आएर फोटो खिच्ने, हात हल्लाउने, त्यसपछि गएर म छुमन्तर भएर जाने होइन ।’
उनले पार्टीका नेताहरूले यहाँको भाषामा दुई लाइन भए पनि बोल्न सिक्न सुझाव दिए पनि आफूले त्यो कुरा नमानेको बताए ।
‘म दुई लाइन यहाँको भाषामा बोल्ने सिकेर आएर, एकछिन आएर रातभरि घोकेर आएर यहाँ आएर गर्दिनँ । म यहाँको भइसकेपछि ६ महिनामा ८ महिनामा यहाँको प्रत्येक व्यक्तिलाई नामले चिन्न चाहन्छु । ५ महिना, ६ महिना, ८ महिना, ९ महिना लाग्ला, १० महिना लाग्ला, १ वर्ष लाग्ला,उनले भनेका छन् ।'
उनले आफू ९–१० महिनापछि एक लाइन मात्र होइन माइक समातेर यहाँको भाषामै भाषण गर्न सक्ने हुने बताए ।
उनले थपे, ‘सबै कुरा मैले गर्दै जाने हो । त्यसैले म नौटङ्की गर्दिनँ । चटकेजस्तो पनि कुरा गर्दिनँ । जिम्मेवार भएर तपाईँहरूको साथी, भाइ, छोराको जिम्मेवारी निर्वाह गर्न चाहन्छु । र, यो जिम्मेवारी निर्वाह गर्ने क्रममा तपाईँहरू सबैको साथ सहयोग रहन्छ र फागुन २१ सम्म अब यो त्यो नभनीकन अब हामी वडागत रूपमा छलफल गर्छौँ । छलफल गरेर केही कार्ययोजना बनाउँछौँ, त्यो कार्ययोजना अनुरूप तपाईँहरू सबैजना लाग्नुहुन्छ, मेहनत गर्नुहुन्छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस